तिर्थालु सवार जीप बर्दिवासमा पल्टियो, २८ जना घाइते

पब्लिक टुडे समाचारदाता
बर्दिवास, साउन ६ गते ।
साउने सोमबारी मेलाका २८ जना भारतीय भक्तजन महोत्तरीमा सडक दुर्घटनामा घाइते भएका छन् । जिल्लाको बर्दिवास नगरपालिका–५ टुटेश्वरस्थित श्रीटुटेश्वरनाथ माहादेबको दर्शन गरेर फर्कदै गरेका २८ भारतीय भक्तजन सडक दुर्घटनामा घाइते भएका हुन् ।

टुटेश्वर मन्दिरबाट बर्दिवासचोक फर्कने क्रममा पूर्वपश्चिम राजमार्गको वनक्षेत्रमै भारतीय यात्रु चढेका ना ४ च १०९९ नम्वरको पिकअप भ्यान आज सोमबार दिउँसो पल्टेको हो । घाइते यात्रुलाइ बर्दिवास–१४ स्थित शुभस्वस्तिक अस्पतालमा उपचार शुरु गराइएको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक निशान थापाले जानकारी दिनुभयो ।

घाइते सबै महोत्तरीकै सीमावत्र्ती भारतीय जिल्ला सीतामढीको सुरसण्ड प्रखण्डमा पर्ने बघारी गाउँका भएका पुष्टि भएको छ । सोमबारी मेलामा सिन्धुली जिल्लाको लङ्गुरखोलास्थित दुधेश्वरनाथ महादेबको दर्शन गरेर भारतीय भक्तजन टुटेश्वर पुगेका थिए । समान ओसार्ने पिकअपमा कोचाकोच यात्रु राखेर फर्किएको सो गाडि पूर्वपश्चिम राजमार्गको बर्दिवास–५ को वनक्षेत्रमा पल्टेको प्रहरीले जनाएको छ ।

गाडि (पिकअप भ्यान) पल्टनबितिक्कै चालकभने फरार भएका छन् । पिकअपभ्यानका सहचालक सर्लाहीको ईश्वरपुर नगरपालिका–२ राइटरखोरका ३० बर्षीय बीरेन्द्र सिंह पनि घाइते भएका छन् । घाइते हुने तिर्थयात्रीमा १० बर्षीया बालिका काजलकुमारीसहित ११ जना महिला छन् । घाइतेमध्ये सातजनाको अवस्था गम्भीर रहेको चिकित्सकलाइ उद्धृत गर्दै प्रनाउ थापाले बताउनुभयो ।

टुटेश्वरनाथबाट फर्केको पिकअप तिब्र गतिमा हाँकिदा आफूलाइ डर लागेर बिस्तारै चलाउनोस्भन्दा चालकले झन् होउसिएर कुदाउँदा गाडि पल्टेको तिर्थयात्री समूहकै ३५ बर्षीय सिल्टु साहले बताउनुभयो ।

प्रहरीले पिकअपभ्यान र सहचालकलाइ नियन्त्रणमा राखी दुर्घटनाको कारण अनुसन्धान शुरु गरिएको जनाएको छ ।