• The Public Today
  • भ्रष्टाचारको जालो ध्वस्त गर्नु जरुरी !


    सम्पादकीय/साउन ६ गते । अख्तियार दुरुपयोग आयोगबाट कर्मचारी पक्राउको क्रम दिनानुदिन बढ्दै गएको छ । विगत एक वर्षको अवधिमा मात्रै घुस खाँदै गरेका एक सय ६१ निजामति कर्मचारी पक्राउ परेका छन् ।

    [custom-facebook-feed]

    आयोगले भ्रष्टाचारी कर्मचारी पक्राउ गर्न स्टिङ अप्रेसन जारी राखिरहेको भए पनि कर्मचारीमा घुस खाने भ्रष्टाचार गर्ने प्रवृत्तिमा कमी नआएको कर्मचारी पक्राउको बढ्दो क्रमले स्पष्ट हुन्छ । कर्मचारीमा बढ्दो घुस मोहका कारण सरकारको विकास र सुशासनको लक्ष्यमा समेत गम्भीर अवरोध देखिएको छ ।

    विगतको जस्तै आज पनि भ्रष्टाचार गर्न आकर्षक केही सरकारी कार्यालय यस्ता छन् जहाँ जान कर्मचारी पैसा,चाकरी,चापलुसी आदि जस्तोसुकै नजराना अधिकारीकोमा चढाउने गर्छन् । कुनै कर्मचारी आकर्षक भनिएको कार्यालयमा जानका लागि पैसा खर्च गर्छ भने त्यस्तोबाट सफा कामको अपेक्षा गर्न सकिंदैन । आफूले खर्च गरेको पैसा असुल्न उसले जस्तोसुकै काम गर्न पछि पर्दैन । सरकारी कार्यालयहरुको परिचय आकर्षक र अनाकर्षक हुँदासम्म त्यहाँ हुने भ्रष्टाचारमा कमी आउँदैन । आयोगबाट कर्मचारी पक्राउको क्रम यसरी नै बढ्दै जान्छ । भ्रष्टाचार नियन्त्रण गरी सुशासन स्थापित गर्दै मुलुकलाई विकासको मार्गमा अग्रसर गराउने हो भने सबभन्दा पहिले सरकारी कार्यालयहरुको परिचय समान बनाइनुपर्छ । सबै कार्यालय आफ्नो भूमिकामा समान छन् भन्ने मान्यता स्थापित गरिनुपर्छ ।

    हामीले विकास र समृद्धिको आश गरी संघीय शासन व्यवस्था अभ्यास गरिरहेका छौं । यो शासन व्यवस्थालाई सफल बनाउन अरुभन्दा स्थायी सरकारका रूपमा रहेको कर्मचारी संयन्त्रको महŒवपूर्ण भूमिका मानिन्छ । त्यसैले पनि होला प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीहरुलाई सचेत गराउँदै राष्ट्र र जनताको हितमा काम गर्न पटकपटक निर्देशन दिनुपरेको । कर्मचारीले आफ्ना गलत स्वभाव र भ्रष्टाचार गर्ने प्रवृत्तिलाई पूर्णरूपमा परित्याग गरेर विकसित र समृद्ध मुलुक निर्माण गर्न स्वतःस्फूर्त अग्रसरता लिनुपर्छ । अनि भ्रष्टाचार अत्याधिक हुने भनेर चिनिएका सरकारी कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सर्तकता केन्द्रलगायतका निकायले नियमित रूपमा छड्के अनुगमन गर्नुपर्छ । कर्मचारीको घुस खाने र खुवाउने जालोलाई ध्वस्त पार्नका लागि सोहीअनुसारको रणनीतिसमेत अख्तियार गर्नुपर्छ ।


    क्याटेगोरी : सम्पादकीय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस