गोपालप्रसाद बराल/बर्दिवास, फाल्गुण २७ गते । पुस्तौंदेखि गरीबी, अशिक्षा र सामाजिक विभेदले गाँजेका महोत्तरी जिल्लाका मुसहर जाति अब सामाजिक, आर्थिक र शैक्षिक गतिविधिमा सरिक हुँदैगएका छन् । ‘न साँच्ने धन, न राख्ने अन्न’ आहानमा उभ्याइने मुसहर अब बाक्लै सामाजिक, आर्थिक र शैक्षिक गतिविधिमा सरिक हुन लागेको देखिन्छ ।
गत साता बर्दिवास नगरपालिका–१४ स्थित एकीकृत नमूना मुसहर बस्तीका बिल्टु सादा मुसहर र उहाँकै कान्छा भाइ मञ्जे सादाले चितवनमा निर्माण भईरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणमा सहयोग भन्दै धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुश) लाई पाँच/पाँचहजारका दरले हस्तान्तरण गरेका छन् । कृषि मजदूरी गरेर जीवनयापन गर्दै आएका बिल्टु पछिल्ला केही वर्षयता भने ठेक्कामा जग्गा लिएर खेतीबाट अर्थोपार्जन गरेर सहकारीमा रकम जम्मा गर्न थालेका छन् ।
त्यसैगरी, उच्च शिक्षाआर्जन गर्न थालेका सो बस्तीका मञ्जे सादा पनि आफ्नै बस्ती वरिपरी ट्युशन पढाएर रकम आर्जन गर्दै आएका छन् । यसैबीच यसै साता जिल्लाकै भंगाहा नगरपालिका–६ जमुनियाँका मुङ्गीलाल सादाले आफ्नो बस्तीमा प्रहरीचौकी भवन निर्माणका लागि एक÷एक पैसा सञ्चय गरेर किनेको जग्गा नै दान गरे । मुसहर जातिका यी अगुवा सामाजिक गतिविधिमा सक्रिय सरिकता बढउँदै जानु सबैका लागि अनुकरणीय हुने भंगाहा नगर पालिका–१ कै स्थायी बासिन्दा समाजशास्त्री शिवराज दाहाल बताउँछन् ।
‘‘मुसहर भनेपछि कृषि कामका लागि बनीबुतो गरेर जीवनयापन गर्ने खास जाति बुझिन्छन्’’ दाहालले भने, ‘‘तर, अब विस्तारै मुसहर समाजका विभिन्न रचनात्मक गतिविधिमा सरिक हुन लागेका देखिएको छ, यसले सकारात्मक सन्देश प्रवाह गर्दैछ ।’’ स्वयं मुङ्गीलाल पनि आपूmले प्रहरीचौकी निर्माणमा केही सहयोग गर्न पाएकोमा खुशी छन् । ‘‘हाम्रो जमुनियाँ चोकमा चोरी डकैतीलगायतका अपराधिक गतिविधि बढे, त्यसको नियन्त्रणका लागि यहाँ स्थापित प्रहरी चौकीलाई दिगो राख्न भवन निर्माणका लागि लक्ष्मेश्वरजी र मैले जग्गादान गरेका हौं ।”
सो बस्तीका मुङ्गीलाल सादा र लक्ष्मेश्वर यादवले यसैसाता गत बुधबारमात्र प्रहरीचौकी जमुनियाँको नाउँमा पाँच कठ्ठा १२ धुर जग्गा पास गरेर सोको जग्गाधनी प्रमाणपूर्जा जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीलाई हस्तान्तरण गरेका थिए । पछिल्ला केही वर्षयता जिल्लाका सामुदायिक विद्यालयमा पनि मुसहर बालबालिका भर्ना हुने क्रम बढेको छ ।
उज्यालो भयो कि काँधमा कोदालो भिरेर मुसा मार्न खेतचउर र वन पस्ने मुसहर बालबालिका अब विद्यालय आउन थालेका बर्दिवास–२ स्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक दिलीप तिवारी बताउछँ न् । आफ्नो विद्यालयमा अहिले १५० भन्दा बढी मुसहर बालबालिका पठनपाठन गरिरहेका प्रधानाध्यापक तिवारीको भनाइ छ ।
यस्तै, भंगाहा नगरपालिक–४ रामनगरको राष्ट्रिय आधारभूत विद्यालयमा पनि १ सय भन्दा बढी मुसहर बालबालिका नियमित पढ्न आइरहेको सो विद्यालयका प्रधानाध्यापक रघुवीर साहले जानकारी दिए । आफूहरूको पछौटेपनप्रति राज्यसँग कुनै गुनासो नगर्ने मुसहर अब भने आफ्ना अवसरबारे सचेत हुँदै गएका छन् ।
स्थानीय तह, सरकारी निकाय र स्वास्थ संस्थामा अब सेवा लिन पुग्ने र पाउनुपर्ने सेवाबारे नयाँ पुस्ताका मुसहरमा निकै चासो बढ्न थालेको इलाका प्रशासन कार्यालय बर्दिवासका प्रमुख विमल भट्टराई बताउँछन् । विद्यालयमा नानी पढ्न पठाउने, आफ्ना नानीको पठनपाठन रुचिबारे शिक्षकसँग सोधपुछ गर्ने, स्वास्थ्य संस्थामा उपचार लिन जाने, स्थानीयतहमा आफ्नो समुदायका लागि गरिएका खास व्यवस्थाबारे मुसहरले जानकारी लिन थालेको यहाँका बुद्धिजीवीले नियालेका छन् ।
यसबाहेक अब अर्थोपार्जनका विभिन्न विकल्पको खोजी गर्दै सक्रिय हुने, रकम सञ्चय गर्ने र सामाजिक गतिविधिमा बढ्दो सहभागिताले मुसहर जातिको उत्थानमा बल पुग्दै गएको बर्दिवास जनता बहुमुखी क्याम्पस बर्दिवासका प्रमुख तोपबहादुर ठकुरी बताउँछन् । जिल्लामा अहिले करीब तीन हजारभन्दाबढी मुसहरको सख्या रहेका छन् । राष्ट्रिय जनगणना २०६८ का अनुसार जिल्लामा २ हजार ३ सय मात्र मुसहरको जनसंख्या रहेको उल्लेख छ । तर ती समुदायमा माध्यमिक तह पास गर्नेको सख्या भने १५ कटेको छैन । उच्च शिक्षा अध्ययन थालेका त एक हातको औंलामै गन्न सकिने जिल्ला समन्वय समिति महोत्तरीका संयोजक सुरेशप्रसाद सिंह बताउँछन् ।
तर, पछिल्लो समय मुसहर जातिमा बढेको सामाजिक जागरणले चाँडै सकारात्मक फड्को मार्ने आस जगाएको संयोजक सिंहको भनाइ छ । रंगशाला निर्माणको लागि धुर्मुस– सुन्तली फाउण्डेसनलाई चितवनको रामपुरमा सरकारले बीस बिगाहा ६ कठ्ठा जग्गा उपलब्ध गराएको छ । प्रदेश २ को होटल तथा पर्यटन व्यवसायीले रंगशाला निर्माणका लागि २२ लाख ४० हजार ५ सयको सहयोग घोषणा गरेको थियो ।