• The Public Today
  • राहत लिएर शिक्षामन्त्री पोखरेल बाढी प्रभावित क्षेत्रमा


    शैलेन्द्र महतो
    जनकपुरधाम, साउन ९ गते ।
    शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरीराजमणि पोखरेल खाद्यान्न राहत सामग्री सहित महोत्तरीको बाढी प्रभावित क्षेत्रमा पुग्नु भएको छ । मन्त्री पोखरेलले बुधबार गृह जिल्लाको विभिन्न स्थानका प्रभावित क्षेत्रहरुको निरीक्षण गर्नुभएको हो ।

    [custom-facebook-feed]

    बाढी पीडितका लागि राहत सामग्री र तत्कालिन नदी नियन्त्रणको समाधानको लागि जनता तटबन्ध र कमला सिंचाई आयोजनका ईन्जिनियर सहितको टोलीसंगै उहाँ रातु नदीले झण्डै ३ सय घरपरिवारलाई विस्थापित बनाएको लोहारपट्टी नगरपालिका ५ को दठौडा टोलको निरीक्षण गर्नुभएको छ । घरबार सहित विस्थापित बनाएका बाढी पीडित अहिले जयनगर बर्दिबास निर्माणधिन रेल्बे ट्रयाकमा त्रिपाल टांगेर कष्टपूर्ण जीवन व्यथित गरिरहेका छन् । विस्थापित हुने मध्ये १ सय ६२ घरपरिवार गरीब एवं अति विपन्न मुसहार समुदाय छन् ।

    त्याहाँ निरीक्षणको क्रममा मन्त्री पाखरेलले विस्थापितहरुको समस्याको विषयमा जानकारी लिनु भएको थियो भने तत्कालिन नदी नियन्त्रणका लागि ईन्जिनियरहरुसंग छलफल गर्नु भएको छ । उहाँले तत्काल नदी यिन्त्रण र भएका बस्ती पनि सुरक्षित बनाउन गर्न सकिने समस्या समाधानको उपाय अबलम्बन गरेर काम गर्न जनता तटबन्ध र कमला सिंचाई आयोजनका प्रमुखहरुलाई निर्देशन दिनुभयो ।

    मन्त्री पोखरेलले विपदको यस्तो बेलामा बाढी पीडितको समस्यालाई सबैले मिलेर सामना गर्न आग्रह गर्नुभयो । संघीयताको अहिलेको अवस्थामा स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले बाढी पीडितको दुःख कष्टलाई कम गर्न आफ्नो स्तरबाट सहयोग गर्नुपर्नेमा उहाँको जोड छ । बाढी प्रभावित स्थलहरुमा फोहार मैलाको समस्या समेत देखिएकाले महामारी हुन सक्ने भन्दै उहाँले त्यसतर्फ पनि स्थानीय सरकार, स्वास्थ्यकर्मी, युवाहरुले ध्यान दिनुपर्ने र बाढी प्रभावितहरुको आंकडा तयार गरेर एकद्वार प्रणाली अपनाएर राहत विपतरण कार्यलाई व्यवस्थित बनाउनुपर्ने उहाँको भनाई छ ।

    ‘यस्तो दुख कष्टको बेला आएर जन्तालाई हेरे जस्तो गर्ने, आएर उभिने, फोटो खिचाउने र समाजिक संजालमा फोटो हालेर बाढीपीडितको समस्या समाधान हुँदैन’ मन्त्री पोखरेलले भन्नुभयो ‘बाढीले कहाँ कहाँ बाँध भत्काएको छ, त्यसले कति असर पारेको छ, अहिलेको समाधान केहुन सक्छ, दीर्घकालिन समाधान के हुन सक्ने भन्ने विषयमा हामीले निरीक्षण गर्दैछौं । तत्कालको लागि केहि समाधान गर्न सक्ने विषयमा हामी फिल्डमै छलफल गर्दै छौं ।’
    उहाँले स्थानीय सरकार र प्रदेश सरकारलाई समेत आफ्नो स्तरबाट बाढी पीडितलाई सहयोग गर्न आग्रह गर्दै आफु संघीय सरकारमा भएको हैसियतले संघीय सरकारले गर्न सक्ने सबै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    यस्तै मन्त्री पोखरेलले बाढी विस्थापित लोहारपट्टी नगरपालिका ५ को दठौडा टोल, भंगहा नगरपालिका १ को दोस्तीयाटोलका लागि वितरण गर्न प्रति परिवार ५ किलो चामल, ३ किलो च्युरा, एक किलो दाल, नुन, आलु, विस्कुट, चाउचाउसहितको पोका तयार गरी ईलका प्रहरी कार्यालय लोहारपट्टीलाई हस्तान्तरण समेत गर्नुभएको छ ।

    भंगहा नगरपालिका वडा नं. १ दोस्तियार टोलमा रातुखोलाले झण्डै ८ घरपरिवारलाई विस्थापित बनाएको छ । मन्त्री पोखरेलले दास्तिया टोलका बाढीपीडितलाई कविलासामा भेटघाट गर्नुभएको छ भने भंगहा नगरपालिका वडा नं. २ का बाढी प्रभावित स्थल र वडा नं. ५ को सिद्धपुर स्थित बडहडी खोलाले गरेको कटानको निरीक्षण गर्नुभएको छ ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राजनीति, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस