• The Public Today
  • देशभर सवारीसाधन दुर्घटना बढ्यो, यस्तो छ कारण


    काठमाडौं, साउन ११ गते । देशभर सवारीसाधन खरिदबिक्री बढेसँगै दुर्घटनामा समेत वृद्धि भएको छ । आर्थिक वर्ष २०७५/७६ मा देशभर सवारीसाधन दुर्घटनामा दुई हजार ७८९ जनाको मृत्यु भएको छ । सो अवधिमा १३ हजार ३६६ सवारीसाधन दुर्घटनामा परेका थिए ।

    [custom-facebook-feed]

    दुर्घटनामा चार हजार ३७६ जना गम्भीर घाइते तथा १० हजार ३६० व्यक्ति सामान्य घाइते भएका थिए । प्रहरी प्रवक्ता एवम प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलका अनुसार आव २०७४/७५ को तुलनामा आव २०७५÷७६ मा देशभर सवारीसाधन दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या बढेको छ । आव २०७४÷७५ मा नौ हजार ९८९ सवारीसाधन दुर्घटना हुँदा दुई हजार ३१८ जनाको मृत्यु भएको थियो । आव २०७३÷७४ मा भने आव २०७४÷७५ को भन्दा बढी व्यक्तिको  सवारी दुर्घटना परी मृत्यु भएको थियो ।

    आव २०७३÷७४ मा १० हजार १७८ सवारीसाधन दुर्घटना हुँदा दुई हजार ३८४ जनाको ज्यान गएको थियो । चालकको लापरवाही, यात्रुको गल्ती, उछिन्ने काम, तीव्रगति, मादकपदार्थ सेवन, यान्त्रिक गडबडी, बढी गहरुङगो सामानका कारण बढी दुर्घटना हुने गरेको पोखरेलको भनाइ छ । प्रहरी प्रधान कार्यालयका अनुसार मोटरसाइकल, ट्रक, टिपर, जीप, कार, ट्र्याक्टर र टेम्पो बढी दुर्घटना हुने गरेको छ ।

    उपत्यकामा दुर्घटना बढ्यो

    काठमाडौँ उपत्यकामा पनि सवारीसाधन दुर्घटनाको सङ्ख्या वर्षेनी बढेर गएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आव २०७४/७५ को तुलनामा आव २०७५/७६ मा सवारी दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या बढेको छ । आव २०७३÷७४ मा उपत्यकामा सवारी दुर्घटनाबाट १९४ जनाको मृत्यु भएकामा आव २०७५/७६ मा उक्त सङ्ख्या बढेर २५४ पुगेको छ । आव २०७३/७४ मा उपत्यकामा सवारी दुर्घटनाबाट १८२ जनाको ज्यान गएको थियो ।

    महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्त फराकिलो सडक, भौतिक पूर्वाधारको कमी र तीव्र गतिका कारण उपत्यकामा सवारीसाधन दुर्घटनामा वृद्धि भएको बताउँछन् । “चालकलाई ट्राफिक ज्ञान नहुँदा उपत्यकामा दुर्घटना बढेको हो”, उतले बताए ।     महाशाखाले उपत्यकाको सवारी दुर्घटनालाई कम गर्न विभिन्न समय विभिन्न किसिमका जनचेतनामूलक कक्षा सञ्चालन, तीव्र गतिमा गुड्ने सवारीसाधनलाई सीमित गति, सडकको बीच भागमा डिभाइडर राख्नेलगायत काम गर्दै आएको छ ।

    किन हुन्छ दुर्घटना ? 

    लामो समयदेखि महानगरीय ट्राफिक प्रहरी महाशाखामा बसेर काम गरेका पूर्वप्रहरी उपरीक्षक जगतमान श्रेष्ठ मानवीय कारणअन्तर्गत तीव्र गतिमा सवारी चलाउनु र चालकको लापरवाहीका कारण बढी दुर्घटना हुने गरेको बताउँछन् । उनले २५ प्रतिशतभन्दा बढी दुर्घटना चालकको लापरवाहीका कारण हुने गरेको बताए । श्रेष्ठ तीव्र गतिलाई कम गर्नसके ३० देखि ४० प्रतिशत दुर्घटनामा कमी आउन सक्ने बताए ।

    नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल सडक सुरक्षित भएमात्र सवारीसाधन दुर्घटनामा कमी आउने भएकाले सडक सुरक्षित गर्न नेपाल प्रहरीले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउँछन् । यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३५ लाख तथा काठमाडौँ उपत्यकामा ११ लाखको हाराहारीमा सानाठूला सवारीसाधन सञ्चालनमा छन् । रासस


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस