• The Public Today
  • ६१ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा


    पब्लिक टुडे समाचारदाता
    बर्दिवास, साउन १२ गते :
    महोत्तरीको बर्दिवास नगरपालिका–१० खयरमाराको बयलवास बस्तीकी ६० वर्षीया कालीमाया मोक्तानले भनिन, “अब त हामी पनि लालपुर्जावाला भयो” ।

    [custom-facebook-feed]

    हातमा भर्खरै पाएको जग्गाधनी प्रमाणपुर्जा लिएर खुशी प्रकट गर्दै भनिन् । आफ्नो र श्रीमान् सुकमान मोक्तानको संयुक्त नामको जग्गाधनी प्रमाणपुर्जा पाउँदा संसारको ठूलै कुरा जितेको कालीमाया बताउँछिन् ।

    “हेर्नु हजुर, छोरा यहीँ जन्मियो, अहिले घरभरि नातिनातिना छन्, तर, आफ्नो घरजग्गाको लालपुर्जा नहुँदा ४० वर्ष पिरमै बित्यो”, कालीमायाले मनको बह पोख्दै भनिन्, “बल्ल घरजग्गा आफ्नो भएजस्तो लाग्यो ।” कालीमायासहित बस्तीका ६१ परिवारले शनिवार घरजग्गाको जग्गाधनी प्रमाणपुर्जा पाएपछि खुशी भएका छन् ।

    भूमि अधिकार मञ्चको समन्वयमा नापी कार्यालय महोत्तरी जलेश्वरले बस्तीमै आयोजना गरेको जग्गाधनी प्रमाणपुर्जा वितरण समारोहमा प्रदेश २ का सदस्य शारदादेवी थापा, बर्दिवास नगरपालिकाका प्रमुख बिदुरकुमार कार्की र नापी कार्यालय जलेश्वरका निमित्त प्रमुख कमलेशचन्द्र लालले सो बस्तिीका ६१ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरेका हुन् ।

    “घरजग्गाबाहेक अन्त केही नहुँदा हाम्रो के छ र भन्ने हुन्थ्यो” बस्तीकी ६५ वर्षीया कपीयादेवी महराले भनिन्, “अब लालपुर्जा पाएपछि घरको मुहडा नै उज्यालो भएजस्तो लागेको छ ।”
    आफ्नै आँगनमा आएर सम्बन्धित निकायले जग्गाधनी प्रमाणपुर्जा वितरण गरेपछि बस्तीका सुकुम्वासीले सिंहदरबार गाउँमा आएजस्तो लागेको बताए । “अस्ती नै चुनावको बेला नेताहरुले गाउँमै सिंहदरबार आउँछ भन्थे”, जग्गाधनी प्रमाणपुर्जा पाएर मख्ख परेकी सञ्चीमाया स्याङ्तानले भनिन्, “अब चैं हो पो क्यारे जस्तो लाग्यो ।”

    नापी कार्यालय महोत्तरीले सो बस्तीका ६१ परिवारलाई उनीहरुको करेसाबारीसहित घरले चर्चेको जग्गाको तीन वर्ष पहिले वि.सं. २०७३ मै नापी गरेको समाचार आजको द पब्लिक टुडे दैनिक पत्रिकामा छ ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस