जनकपुरधाम, साउन १२ गते : प्रदेश २ सरकारले जानकीमन्दिरको मौलिकतामा असर पर्ने गरी गरिरहेको मर्मत सम्भार तथा सौन्दर्यकराणको काजमाथि पुरातत्व विभागले रोक लगाएको छ । पुरातत्व विभागको स्वीकृती बिना जानकी मन्दिर परिसर भित्र भईरहेको निर्माण कार्य नेपाल सरकार, पुरातत्व विभागले आईतवारदेखि रोक लगाएको हो ।
पुरातत्व विभाग, काठमाडौबाट जानकी मन्दिरको पुरातत्व सम्बन्धी फोकल पर्सनको रुपमा कार्यरत पुरातत्व अधिकृत मन्जु सिहं भण्डारीले जानकी मन्दिरको प्रांगण भित्र भइरहेको भवन निर्माणको कार्य समेत रोक्न फोनबाट जानकारी गराएको हो ।
उनका अनुसार उक्त कार्य रोक्न पुरातत्व विभागको औपचारिक पत्र सोमबारसम्म जानकीमन्दिर, जनकपुरधाम उप महानगरपालिका, प्रदेश २, मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पत्र समेत पुगिसक्ने छ ।
जानकी मन्दिरको परिसर सुधारको लागि प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट मुख्य मन्त्री स्वच्छता अभियान अन्तरगत जानकी मन्दिरको कम्पाउन्ड भित्र मार्बल लगाउने योजना अगाडी बढाइएको थियो । जानकी मन्दिरको परिसर सुधार गर्न सहमति माग सम्बन्धी प्रदेश २ सरकारको पत्रको आधारमा जानकी मन्दिरसंग तादात्मयता हुने गरी तथा मन्दिरको साविकको दृष्यलाई नकारात्मक असर नपर्ने गरी विश्व सम्पदाको संभावित सुचिमा सुचिकरण गर्ने सिलसिलामा उक्त सुधार कार्यले कुनै समस्या नआउने गरी पुरातत्व विभागले २०७५।०९।२२ को पत्र अनुसार सहमति प्रदान गरेको समाचार आजको द पब्लिक टुडे दैनिक पत्रिकामा विस्तृतमा छ ।