• The Public Today
  • चर्को घर भाडाका कारण व्यवसायी पलायन


    जनकपुरधाम, साउन १४ गते : जनकपुरधाम उपमहानगरपालिकाका सौन्दर्य सामग्री व्यवसायी चन्दन भगतलाई गत एक वर्षदेखि पसलको भाडा तिर्न धौं धांै पर्दै आएको छ ।

    [custom-facebook-feed]

    एक वर्षअघिसम्म उनको व्यवसाय पनि राम्रो थियो तर नयाँ ठाउँमा पसल सार्नुपर्दा मन्द व्यापार र चर्को भाडाले गर्दा पसल नै बन्द गर्नुपर्ने अवस्था आएको छ ।

    नयाँ पसल लिएदेखि व्यापार छैन पसलको भाडा कसरी तिर्ने पिरले चन्दन जनकपुरधाममा व्यापार गर्ने कि नगर्ने दोसाँधमा छन् । उनी भन्छन्, “पहिला पसलको भाडा १० हजार थियो, व्यापार पनि राम्रै थियो, अहिले पसलको भाडा ३५ हजार छ, व्यापार छैन ।”

    तयारी पोशाक व्यवसायी राजकुमार साह चर्को पसलको भाडाले ऋणी बनेका छन् । विगतमा उनको तयारी पोशाकको व्यापार राम्रो श्रेणीमा गणना हुन्थ्यो । अहिले उनको पसलमा सामान पर्याप्त छ तर ग्राहक साह्रै न्यून देखिन्छन् । एक वर्षअघि कपडा व्यवसायी गोपाल अग्रवालको कपडा पसलमा भीड हुन्थ्यो, अहिले भीड स्वाँत्तै घटेको छ ।

    जनकपुरधाम उपमहानगरपालिकामा चर्को घर भाडा र मन्द व्यापारका कारण व्यवसायीहरू समस्यामा पर्दै आएका छन् । जनकपुरधाममा भएकामध्ये ६० प्रतिशत व्यवसायी भाडामा पसल लिइ व्यवसाय गरिरहेका छन् ।

    शुरूमा चर्को भाडामा पसल लिइ एक–दुई महिनासम्म भाडा तिरे पनि लामो समयसम्म भाडा तिर्न नसकेकाले अन्यत्र सानुपर्ने अवस्था सिर्जना भएको छ । जनकपुरधाम क्षेत्रमा करीब चार हजारभन्दा अधिक व्यवसायी रहेकामा अधिकांशले भाडामै पसल लिइ व्यवसाय सञ्चालन गरिरहेका छन् । नगरका मुख्य क्षेत्र मिल्स एरिया, भानुचोक, रेल्वे स्टेशन, कदम चोक, शिव चोक, जनक चोक, रामचोक, जानकी चोक, मुरली चोक, क्याम्पस चोक, भमरपुरा चोक र रामानन्द चोकको पसलको भाडा चर्को रहेको समाचार आजको द पब्लिक टुडे दैनिक पत्रिकामा विस्तृतमा छ ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस