गौशाला, साउन १४ गते : महोत्तरीका अधिकांश सडक बाढीबाट क्षतिग्रस्त भएपछि यातायात सञ्चालनमा कठिनाइ उत्पन्न भएको छ ।
जिल्लको मरहा, जंगहा, अंकुशी, रातु र विग्हीलगायतका नदीमा आएको बाढीले जिल्लाको जलेश्वर–मनरा–हर्दी, जनकपुर–भिठ्ठामोड, जनकपुर–लोहारपट्टी–रामगोपालपुर–सम्सी, मटिहानी–जलेश्वर–मडै–लोहारपट्टी, जलेश्वर–बर्दिबास, जनकपुर–मटिहानी, जलेश्वर–बखरी–चकवा–बथनाहा, धमौरा–बर्दिबास, लक्ष्मिनियाँ–रघुनाथपुर–खैरबन्नी सडकको विभिन्न स्थानमा यातायात नियमति गर्न कठिनाई भएको छ ।
त्यस्तै पूर्व पश्चिम राजमार्गको भब्सी पुल नजिक सडक कटान गरी बगाएका कारण यातायात सञ्चालनमा कठिनाइ भएको हो ।
बाढीले जनकपुर–भिठ्ठामोड सडकको पिपरामा ५० मिटर, सोही सडकको खैरा चोकभन्दा दक्षिण ६० मिटर, जलेश्वर–हर्दी सडकखण्डको एक दर्जन ठाउँमा सयौँ मिटर, त्यस्तै परिक्रमा सडकअन्तर्गत ४६ ठाउँमा सडक बगाएको जनाइएको छ ।
दैनिक १५० देखि २०० सवारी साधन ओहोरदोहोर गर्ने ती सडक मर्मतसम्भार नहुँदा यातायात सञ्चालनमा कठिनाइ भएको जनकपुर अञ्चल बस व्यवसायी संघका अध्यक्ष मनोज चौधरीले बताए ।
बाढीले सडक कटान गरी बगाएका कारण २५ करोड रुपैयाँको क्षति भएको सडक डिभिजन कार्यालय जनकपुरका प्रमुख विनोदकुमार मौवारले जानकारी दिए ।
क्षतिग्रस्त सडक पुनःमर्मतसम्भार गरी सञ्चालनमा ल्याउन तीन करोड रुपैयाँ लाग्ने र त्यसका लागि सडक विभागमा पत्राचारसमेत गरिसकिएको माचार आजको द पब्लिक टुडे दैनिक पत्रिकामा विस्तृतमा छ ।