• The Public Today
  • उप–चुनाव मंसिरमा गर्न दल र आयोगबीच सहमति


    महोत्तरी, साउन १६ गते : प्रतिनिधिसभा, प्रदेशसभा र पालिकाका रिक्त रहेका स्थानमा आगामी मंसिरमा उप–चुनाव गर्न निर्वाचन आयोग र मुख्य राजनीतिक दलहरुबीच सहमति भएको छ ।

    [custom-facebook-feed]

    तीन तहको चुनाव एकै दिन गर्ने विषयमा दलका नेताहरुसँग छलफल भएको आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले बताउनुभयो । आयोगका अनुसार प्रतिनिधिसभामा एक, प्रदेशसभामा तीन, स्थानीय तहमा प्रमुख चार र उपप्रमुखमा एक स्थान जनप्रतिनिधिविहीन छ । यस्तै विभिन्न ३८ ओटा वडामा पनि जनप्रतिनिधि छैनन् ।

    प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पद कार्यकाल सकिन ६ महिना बाँकी हुँदै रिक्त भएमा उप–चुनाव गर्नुपर्ने कानुनी व्यवस्था छ । पालिकामा भने एक वर्षभन्दा बढी अवधि बाँकी रहेमात्रै उप–चुनाव हुने व्यवस्था छ ।

    निर्वाचन आयोगले बिहीबार प्रतिनिधिसभा, प्रदेशसभा र पालिकामा प्रतिनिधित्व गरेका विभिन्न १८ दलका प्रतिनिधिसँग छलफल गरेको हो । छलफलमा आगामी मंसिरमा एकै दिन सबै तिर उप–चुनाव गर्ने गरी काम गर्ने विषयमा छलफल भएको आयोगका प्रवक्ता खरेलले बताउनुभयो ।

    दलहरुले मंसिरमा उप–चुनाव गर्ने प्रस्ताव गरेको र त्यो मितिमा उप–चुनाव गर्न आयोग तयारी अवस्थामा रहेको बताएको प्रवक्ता खरेलले जानकारी दिनुभयो । मंसिरमा उप–चुनाव गर्ने विषयमा आयोग र दलका प्रतिनिधिबीच सहमति भए पनि निर्धारित मिति भने सरकारसँग परामर्श गरेपछि मात्रै तोकिने उहाँले बताउनुभयो ।

    पालिकाको उप–चुनावको मिति तोक्ने अधिकार सरकारलाई रहेकाले सरकारले मिति तोक्ने र प्रदेश र संघीय उप–चुनावको मिति तोक्ने अधिकार भने आयोगलाई रहेको प्रवक्ता खरेलले बताउनुभयो ।

    आयोग पहिलेदेखि नै रिक्त रहेका स्थानमा उप–चुनावका लागि तयारी अवस्थामा रहेकाले जति बेला मिति तोकिए पनि चुनाव गराउन सकिने प्रवक्ता खरेलले बताउनुभयो । साभार : उज्यालो


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राजनीति, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस