निर्मला प्रकरण : पूर्वडीएसपी सेट्ठीसहित ६ प्रहरीलाई धरौटीमा रिहा गर्न आदेश

काठमाडौं, चैत्र १ गते । निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा प्रमाण नष्ट गरेको र निर्दोषलाई यातना दिएको अभियोग लागेका पूर्वप्रहरी नायव उपरीक्षक (डिएसपी) ज्ञान बहादुर सेट्ठीसहित ६ प्रहरीलाई अदालतले धरौटीमा छाड्न आदेश दिएको छ ।

जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलाशले बिहीबार उक्त आदेश गरेको हो । अदालतले भर्खरै डीएसपीबाट अवकास पाएका सेट्ठी र प्रहरी निरीक्षक एकेन्द्र खड्कासँग प्रमाण नष्ट गरेकोमा ५ र यातनामा ४ लाख धरौटी रकम माग गरेको छ ।

एक साताअघी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पुर्व डिएसपी सेट्ठी,  इन्सपेक्टर एकेन्द्र खड्का र  चाँदनी साउद सहित ६ जनलाई नियन्त्रणमा लिएको थियो ।

जिल्ला अदालत कञ्चनपुरले प्रहरी निरीक्षक जगदीश भट्टसँग ४ लाख, सई हरिसिंह धामिसँग ३ लाख ५० हजार, सई रामसिंह धामिसँग ३ लाख र प्रहरी जवान चाँदनी साउदसँग २ लाख ५० हजार धरौटी माग गरेको छ ।

निर्मलाकी आमा दुर्गादेवी पन्त र दिलिपसिंह विष्टका दाजु खड्ग विष्टको जाहेरीका आधारमा प्रहरी अनुसन्धानपछि सरकारी वकिल कार्यालयमा जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।

कञ्चनपुरका तत्कालीन प्रहरी उपरिक्षक (एसपी) डिल्लीराज विष्ट सहित ८ जनाले निर्मलाको बलात्कार–हत्या प्रकरणसँग सम्बन्धित प्रमाण नष्ट गरेको र असम्बन्धित मानिसहरुलाई शारीरिक तथा मानसिक यातना दिएको भन्दै मुद्दा दर्ता भएको थियो ।

खड्ग विष्टले आफ्नो भाइलाई पक्राउ गरेर यातना दिएको भन्दै तत्कालीन डीएसपी सेट्ठी, केन्द्रिय अनुसन्धान ब्यूरोका डिएसपी अंगुर जिसी, इन्सपेक्टर एकेन्द्र खड्का विरुद्ध मुद्धा दायर गरेका थिए ।

सरकारले प्रहरी उपरीक्षक (एसपी) विष्ट र इन्सपेक्टर भट्टलाई सेवाबाट बर्खास्त गरेको थियो भने अन्य ६ जना निलम्बनमा छन् । २०७५ साउन १० गते निर्मला पन्तको शव उखुबारीमा फेला परेको थियो ।