• The Public Today
  • जलेश्वर नपाको हरियाली र सुन्दरता बढाउन छलफल, यस्तो छ योजना !


    पब्लिक टुडे समाचारदाता
    महोत्तरी, साउन ३२ गते ।
    महोत्तरीको जलेश्वर नगरपालिकाको हरियाली, स्वच्छता र सुन्दरता बढाउन छलफल भएको छ ।

    [custom-facebook-feed]

    युएनडिपी, जलेश्वर नगरपालिका र प्रदेशसभा संसदिय विकास कोषको संयुक्त आर्थिक सहयोग र समन्वय तथा महोत्तरीको बर्दिवासस्थित रहेको सामुदायिक विकास पैरवी मंच नेपालको प्राविधिक सहयोगमा सञ्चालित ‘ग्रिनिङ्ग द जलेश्वर’ कार्यक्रम अन्तर्गत जलेश्वर नगरपालिकाको विभिन्न वडाहरुमा वृक्षारोपन गर्न लागिएको हो । सो कार्यक्रम अन्तर्गत जलेश्वर नगरपालिकाको वडा नं. १, २, ३, ६, ८ र ९ अन्तर्गतका सडकहरुमा निर्माण गरिएको डिभाईडर भित्र र सडकको अन्य छेउहरुमा समेत गरी १५ किलोमिटर क्षेत्रमा वृक्षारोपन गर्न लागिएको सामुदायिक विकास पैरवी मंच नेपालका अध्यक्ष नागदेव यादवले जानकारी दिए ।

    हरियाली वृद्वि ,सरसफाई तथा स्वच्छता र सुन्दरता वढाउनको लागि भविष्यमा वढी महत्व राख्ने जातका स्वस्थ्य, गुणस्तर तथा स्तरिय उचाई भएको श्रीखण्ड, कपुर, राजवृक्ष, रुद्राक्ष, गुलमोहर, निम, क्षतिवन, निलमोहर, पारिजात, कदम, अलंकारी, सिरिस, अमला, एरकेरिया जातका ३५ सय विरुवा रोप्न लागिएको अध्यक्ष यादवले बताए । उनले विरुवाको संरक्षणका लागि प्रत्येक विरुवामा जाली घेरा समेत लगाउने योजना रहेको जनाए ।

    यस्तै सो क्षेत्रमा उज्यालो वढाउनको लागि सडकको डिभाईडर भित्र स्ट्रिट सोलार लाईट जडान गर्ने भएको छ । साथै फोहरमैला व्यवस्थापनका लागि २ सय २५ वटा वेस्टेज वक्स(डष्टवीण) राख्ने कार्यक्रम रहेको जनाईएको छ ।

    यता, नगरपालिकाको हरियाली, स्वच्छता र सुन्दरता बढाउने कार्यक्रमलाई लक्षित समय भित्र संचालन गरी सम्पन्न गर्न र परियोजनाले परिकल्पना गरेको उपलव्धीहरु हासिल गर्न जलेश्वर नगरपालिकाका नगरप्रमुख राम शंकर मिश्रको अध्यक्षतामा नगरपालिकाको सभाकक्षमा एकदिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

    परियोजना सञ्चालनको लागि यूएनडिपिवाट १ करोड ९ लाख ९९ हजार ९ सय ५ रुपैया, जलेश्वर नगरपालिकावाट १ करोड ६५ लाख ५० हजार रुपैया र प्रदेश सभा सांसद विकास कोषवाट ५६ लाख रुपैया गरी जम्मा ३ करोड ३१ लाख ४ हजार ९ सय ९० रुपैयाको वजेट स्वीकृत भई सम्झौता समेत भई सकेको सामुदायिक विकास पैरवी मंच नेपालका अध्यक्ष यादवले जानकारी दिए ।

    कार्यक्रममा परियोजनाको लक्ष्य, उदेश्य, उपलव्धी तथा कार्यक्रम संचालन वारे संस्थाका पूर्व कार्यकारी निर्देशक संतोष रसाईलीले प्रस्तुतिकरण गरेका थिए ।

    कार्यक्रममा बोल्दै जलेश्वर नगरपालिकाका नगरप्रमुख राम शंकर मिश्रले सवै सरोकारवालाहरु संग सहयोग र समन्वयमा कार्यक्रम सफल्तापूर्वक सम्पन्न गर्ने प्रतिवद्वता व्यक्त गरे । उनले परियोजनाको सम्पूर्ण जिम्मेवारी नगरपालिकाको नै रहेकोले नपाको वडाका वडाध्यक्षहरुलगायत कर्मचारीहरुलाई सहयोग गरी सफल वनाउन आग्रह गरे ।

    कार्यक्रममा विशिष्ट अतिथि प्रदेशसभा सदस्य रानी शर्मा, वविता चौधरी, जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुरेश प्रसाद सिंह, नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका अध्यक्ष कमलेश मण्डल, जलेश्वर नगरपालिकाका नगर उपप्रमुख, नगरपालिकाका कर्मचारी, जलेश्वरस्थित रहेका सरकारी, गैरसरकारी संघ–संस्था, वित्तिय संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस