• The Public Today
  • रेलमार्ग बाढीले क्षतिग्रस्त बनाएपछि संचालनमा अन्योल


    रोहित महतो
    जनकपुरधाम, भदौ २ गते ।
    जनकपुर–जयनगर ब्रोडगेज रेलमार्ग बाढीले क्षतिग्रस्त बनाएपछि आगामी असोजदेखि सञ्चालनको तयारी अन्योलमा परेको छ ।

    [custom-facebook-feed]

    रेल सेवा सञ्चालनका लागि विभागले ८५ करोडमा दुई वटा आधुनिक रेल खरिद गर्न भारतको कोणर्कोन रेल्वे करपोरेसनसँग सम्झौता गरेकोमा तीन महिनाभित्र रेल नेपाल आइपुग्ने अनुमान गरिएको छ । जयनगरदेखि कुर्थासम्मको ३५ किलोमिटर रेलमार्ग बाढीले क्षतिग्रस्त भएपछि रेल गुड्ने योजना तत्कालका लागि रोकिएको रेलवे विभाग जनकपुर कार्यालयका साइट इन्जिनियर विनोद ओझाले बताए ।

    रेल सेवा सञ्चालनपूर्व जोखिम आँकलन र तिनको व्यवस्थापन अत्यावश्यक रहेको उनले बताए । बाढीले रेल्वे टयाक नै बगेपछि अन्योल « बढेको हो । इन्जिनियर ओझाका अुनसार पूर्वी धनुषाको जनकनन्दनी गाउँपालिका–१ इनर्वामा कमला नदीको तटबन्ध फुटेर आएको भेलले सय मिटरजति रेल्वे टयाक तहसनहस « पारेको छ ।

    जनकपुर–भंगहा–पिपराढी स्टेसनको लोहारपट्टी हल्टमा ४ किलोमिटर तयार भइसकेको ट्रयाक बेडमा पनि बाढीले क्षति पु¥याएको छ । यस्तै रातु खोलामा आएको बाढीले रेल्वे ट्रयाक एक मिटरभन्दा बढी डुबेको छ भने डेढ सय मिटर पूर्णरूपमा क्षतिग्रस्त भएको छ । पहिलो चरणमा भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म ३४ किलोमिटर, दोस्रो चरणमा धनुषाको कुर्थादेखि महोत्तरीको भंगहासम्म १८ किलोमिटर र तेस्रो चरणमा भंगहादेखि बर्दिबाससम्म १७ किलोमिटर गरी जम्मा ६९ किलोमिटर रेल्वे सेवा सञ्चालनका लागि पूर्वाधार निर्माण भइरहेको छ ।

    यता, रेल सेवा संचालनमा आउन नसक्दा जटही सीमा हुँदै यात्रुले बसमार्फत् दोब्बर दुरी यात्रा गर्नुपर्ने बाध्यता छ । व्यापारको पनि उस्तै गति छ । जनकपुर–जयनगर रेल सेवा सञ्चलन हुँदाको बखत स्थानीय उद्योग व्यवसायीको दबदबा थियो, जनकपुरमा । तर, रेलसेवा बन्द भएपछि जनकपुर क्षेत्रको व्यापार व्यवसायमा निकै ठूलो प्रभाव परेको देखिन्छ ।

    पछिल्लो मधेस आन्दोलन र एकीकृत सहरी विकास परियोजनाद्वारा सडक निर्माणका क्रममा लथालिङ्ग पारेर भत्काएपछि यस क्षेत्रको व्यापार नै चौपट भएको छ । व्यवसाय खस्किँदै गएपछि ऋण र कर्जाको दबाब थेग्न नसकेर केही विस्थापित भए भने केही भारत पलायन भए । पछिल्लोपटक सुरु गरिएको सडक निर्माणमा ढिलाई हुँदा स्थानीय व्यापारी ठूलो मारमा परेका हुन् ।

    तर, आगामी असोजदेखि सुरु हुने भनिएको रेलसेवाले समेत व्यवसायीमा उत्साह ल्याउन सकेको छैन । रेल सेवा सञ्चालन हुँदा व्यवसाय झन् चौपट हुने डर व्यवसायीमा देखिएको छ । ‘भारतमा यहाँको भन्दा सामान धेरै सस्तो हुन्छ । रेल आएपछि सर्वसाधारण रेल चढेर भारतबाटै सामान ल्याउन पुग्छन्, यहाँ व्यपार फस्टाउने सम्भावना छैन,’ स्थानीय व्यवसायी बजरंग साहले भने । सीमामा प्रहरीले सर्वसाधारणलाई घरायसी प्रयोजनका लागि सरसामान ल्याउन छुट दिएकाले पनि उनीहरूले भारतबाटै समान ल्याउने उनको आशंका छ ।

    रेल सेवा आएपछि होटेल व्यवसाय र पर्यटन व्यवसाय मात्र फस्टाउने व्यवसायी चन्द्र मोहन झा बताउँछन् । ‘कस्टम ड्युटी, ढुवानी स्टाफ खर्च, घरधनीको मनपर्दी भाडा सबैलाई हेर्ने हो भने जनकपुरमा सामान धेरै मंहगो पर्न जान्छ । रेल चढेर आधा घण्टामै भारतीय बजार पुगिन्छ, सर्वसाधारणले किन यहाँ महंगो सामान किन्लान् र ठाउँबाट मालसामान ल्याउनमा सहज हुन्छ, महिनौदेखि ठप्प भएको व्यापार फस्टाउँछ,’ व्यवसायी विजय साहले बताए ।

    जनकपुर उद्योग वाणिज्य संघले पनि रेल सञ्चालनपछि व्यापार व्यवसाय फस्टाउने बताउँछन् । जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललित साहले रेल सञ्चालनपछि जनकपुरको व्यवसाय ठप्प हुने केही व्यापारीको भ्रममात्र रहेको बताए । ‘जयनगर–जनकपुर रेलसेवा सञ्चालनपछि पछिल्लो मधेस आन्दोलनको ६ महिना बन्द र सडक निर्माणमा भएको ढिलाईले उद्योगी व्यवसायीले विगतमा व्यहोरेको घाटा परिपूर्ति हुन्छ,’उनले भने।

    प्राध्यापक तथा अर्थशास्त्री डा. बरुणलाल कर्ण रेल सेवा सञ्चालनमा आएपछि यहाँ व्यवसाय फस्टाउने र जनकपुरको विकास हुने दुइ वटा आधार रहेको बताउँछन्। ‘पर्यटन उद्योगको विकास हुन्छ र व्यापार फस्टाउँछ, व्यवसाय फस्टाएपछि रोजगारीका अवसरसमेत सिर्जना हुन्छन्,’ उनले भने। जनकपुरमा धार्मिक तथा ऐतिहासिक सम्पदा भएकाले भारतबाट ठूलो संख्यामा पर्यटक आगमन हुने र पर्यटन उद्योगले राजस्व संकलनमा ठूलो योगदान पु¥याउने उनको दाबी छ । आजको ‘द पब्लिक टुडे’ दैनिकमा समाचार छ ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस