• The Public Today
  • वैदेशिक रोजगारीमा हुने ठगी रोक्न जरुरी


    सम्पादकीय/भदौ २ गते । आर्थिक वर्ष २०७५÷७६ मा वैदेशिक रोजगारीका क्रममा ठगीमा परेको भन्दै करिब दुई हजार उजुरी दर्ता भएका छन्। तिनमा धेरैजसो उजुरी आफन्तबाटै ठगिएको भन्ने छ ।

    [custom-facebook-feed]

    आफन्तमा बाल्यकालका साथीदेखि छिमेकी र पारिवारिक सम्बन्धसम्मका व्यक्ति रहने गरेका छन्। प्रतिनिधि उदाहरणका रुपमा सर्लाही जिल्ला कविलास–८ का सत्येन्द्रकुमार यादव सुरेश महतोबीच वैदेशिक रोजगारी विषयमा परेको मुद्दालाई लिन सकिन्छ । यिनीहरु बाल्यकालका साथी भएर पनि मुद्दा लडिरहेका छन् ।

    आफ्नो घरेलु आवश्यकता पूरा गर्न आफ्ना सहपाठी सुरेश महतोको आश्वासनमा एक लाख चालीस हजार रुपैयाँ तिरेर कतार उडेका सत्येन्द्र दुई महिनामै घर फर्किन बाध्य भएको प्रकाशित समाचारले त्यसतर्फ सबैको ध्यान आकृष्ट हुन पुगेको छ । समाचार अनुसार कतार जानेबेला इलेक्ट्रिकल काम गर्ने भनिए पनि उनले कतार पुगेपछि पानीको कारखानामा मजदुरको काम गर्नुपर्यो अनि काम गरेको दुई महिनाको पारिश्रमिक पनि पाएनन् । यसरी उनी आफ्नै साथीबाट ठगिएको अनुभूति गरी त्यहाँबाट फर्किन बाध्य हुनुपर्यो । यसले वैदेशिक रोजगारमा हुने ठगी घटना नियन्त्रण गर्न वैदेशिक रोजगार विभागको सक्रियता प्रभावकारी हुन जरुरी छ ।

    आफन्त र छिमेकी एजेन्टबाट ठगिने अवस्थालाई नियन्त्रण गर्न भनेरै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको पहलमा केही महिनाअघि वैदेशिक रोजगार ऐन, २०६४ संशोधन गरी एजेन्ट खारेज गरिएको हो। एजेन्ट खारेज भइसकेकाले वैदेशिक रोजगारीमा जान चाहने युवाले अबदेखि कुनै एजेन्टमार्फत नभई सोझै म्यानपावर कम्पनीमा सम्पर्क गर्नुपर्ने व्यवस्था गरिएको हो। तर अझै एजेन्टको भर पर्ने युवाको संख्या ठूलो छ, जसले गर्दा पनि ठगीमा पर्ने क्रम रोकिएको छैन।

    आर्थिक वर्ष २०७५र७६ मा वैदेशिक रोजगारीका क्रममा ठगिएको भन्दै परेका करिब दुई हजार उजुरीमा म्यानपावर कम्पनीले भन्दा एजेन्टबाट ठगिएको उजुरीको संख्या बढी छ । म्यानपावरद्वारा हुने ठगीमा कारबाही चलाउन र क्षतिपूर्ति तिराउन सहज भए पनि व्यक्तिगत तवरले हुने ठगीमा पीडितलाई न्याय दिन कठिन हुने गरेको छ। म्यानपावरले विभागमा धरौटी राखेका हुँदा पीडितलाई सोही धरौटीबाट क्षतिपूर्ति दिने गरिन्छ तर यही कुरा व्यक्तिगत हिसाबले एजेन्टले ठगी गरेको अवस्थामा क्षतिपूर्ति तिराउन निकै गाह्रो परेको अनुभवबाट देखिन्छ ।

    वैदेशिक रोजगारीमा एजेन्टबाट ठगिनेको संख्या बढी देखेरै सरकारले ऐन संशोधन गरी एजेन्ट राख्न नपाइने व्यवस्था गरेको हो । फेरि पनि म्यानपावरमार्फत भन्दा एजेन्टमार्फत वैदेशिक रोजगारमा जानेको संख्यामा कमी आएको छैन । जसलेगर्दा ठगिनेहरुको संख्या बढेको बढ्यै छ । यसरी ठगिनेहरुको संख्या बढ्दै जानुमा भएका कानुनको प्रभावकारी कार्यान्वयन हुन नसक्नु हो । त्यसैले कानुन भएर मात्र हुँदैन ,त्यसको कार्यान्वयन हुनु जरुरी छ । कानुनको कार्यान्वयन गरेर वैदेशिक रोजगारीमा ठगिएर आफन्तसंगै मुद्दा लड्नुपर्ने अवस्थाको अन्त्य गर्न सरकारले कुनै कसर बाँकी राख्नुहुँदैन ।


    क्याटेगोरी : सम्पादकीय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस