भारतसँग दरो किसिमले संवाद गर्नु जरुरी छ : प्रचण्ड

जनकपुर, भदौं ३ गते : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सीमावर्ती क्षेत्रमा भारतद्वारा निर्मित बाँधले उत्पन्न हुँदै आएको समस्या समाधानका लागि भारतसँग दरो किसिमले संवाद गर्नु जरुरी भएको धारणा व्यक्त गर्नुभएको छ ।

[custom-facebook-feed]

जिल्ला विपद् व्यवस्थापन समितिद्वारा मंगलवार जनकपुरमा आयोजित छलफलमा उहाँले बाँधका कारण उत्पन्न समस्या समाधानका लागि दुवै देश मिलेर जनताको हितमा कार्य गर्नु आवश्यक छ भन्नुभयो ।

बाँध निर्माणले बर्सेनी उत्पन्न समस्या समाधानका लागि दुवै देशले सहकार्य र समझदारी गर्नु अपरिहार्य भइसकेको उहाँले बताउनुभयो । पूर्वप्रधानमन्त्री तथा अध्यक्ष प्रचण्डले विपद् आएपछि मात्र उद्धार, राहत र तत्कालीन व्यवस्थाको चक्रव्यूहबाट पार पाउन विपद्को चुरो पहिल्याई दीर्घकालीन समाधानका उपाय अवलम्बन गर्नु आवश्यक छ भन्नुभयो ।

प्रदेश नं २ मा चुरे संरक्षण, बलियो बाँध निर्माण र नदीनाला नियन्त्रणका कार्यलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै उहाँले सिङ्गै नेपालको समृद्धि प्रदेश नं २ सँग अन्तरनिहित भएका कारण पनि विपद्को दीर्घकालीन हिसाबले समाधान गर्न ध्यान केन्द्रित गर्नु जरुरी छ भन्नुभयो । अध्यक्ष प्रचण्डले प्रदेश नं २ मा बाढीबाट पीडित जनसमुदायका लागि एउटा प्याकेजसहित आउने सरकारको तयारी भइरहेको जानकारी गराउनुभयो ।

अर्का पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले छिमेकी राष्ट्र भारतले नदीको प्राकृतिक बहावलाई अवरोध पु¥याउने किसिमले बाँध निर्माण गरेका कारण सीमावर्ती क्षेत्रका गाउँबस्तीमा डुबान र कटान समस्या जटिल बन्दै गएकातर्फ ध्यानाकर्षण गराउनुभयो ।

विपद्को स्थायी समाधानको उपाय पहिल्याइ प्रभावकारी रूपले कार्यान्वयनमा ध्यान जानु जरुरी भएको चर्चा गर्दै उहाँले चुरे संरक्षणका लागि सक्रिय रूपले लाग्नुपर्नेमा जोड दिनुभयो ।

प्रदेश नं २ का आन्तरिक मामिला कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रदेश नं २ मा हरेक वर्षायाममा विपद् आइपर्ने भएकाले यसको स्थायी समाधानमा सङ्घीय सरकारको सहयोग अपरिहार्य भइसकेको बताउनुभयो ।

उहाँले सङ्घीय सरकारले चुरे क्षेत्रमा राजमार्ग निर्माण र बस्ती बसाउने योजना अघि सार्ने चर्चाले प्रदेशमा मरुभूमिकरणको समस्या निम्त्याउने भएकाले विनाश हुने कार्य तुरुन्त रोकिनुपर्दछ भन्नुुभयो । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रजिअ प्रदीपराज कर्णले कमला नदीमा तटबन्ध तथा सडक निर्माण, कृषकलाई राहत हुने कार्यक्रम र कृषि बीमाको व्यवस्था तत्काल जरुरी भएको धारणा व्यक्त गर्नुभयोे । रासस