काठमाडौं,भदौ ४ गते । भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौं आइपुगेका छन् ।
नेपाल भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन उनी बुधबार दिउँसो काठमाडौं आइपुगेका हुन् । उनलाई परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले स्वागत गरेका थिए ।
विमानस्थलमा भारतीय विदेश मन्त्रीलाई स्वागत गर्न नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरी पनि पुगेका थिए । भारतीय विदेश मन्त्री एस जयशंकरले दिउँसो २ बजे प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
दिउँसो ३ बजेपछि बैठक सुरु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र उहाँका समकक्षी जयशंकरले सहअध्यक्षता गर्ने आयोग बैठकमा नेपालका तर्फबाट ३५ जना सहभागी हुनेछन् ।
बिहीबारसम्म चल्ने बैठकमा दुईपक्षीय सम्बन्ध, आर्थिक सहकार्य, व्यापार तथा पारवहन, ऊर्जा र जलस्रोत,संस्कृति, शिक्षालगायत विषयमा छलफल गर्ने एजेण्डा तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपाल बसाइको क्रममा विदेशमन्त्री जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गर्ने छन् । राष्ट्रपति भण्डारीसँग बिहीबार बिहान साढे १० बजे भेटवार्ता तय भएको छ ।
नरेन्द्र मोदीको दोस्रो कार्यकालमा विदेशमन्त्री भएपछि जयशंकरको यो पहिलो नेपाल भ्रमण हो ।