• The Public Today
  • प्रदेश २ : नाम र राजधानी प्रस्ताव गर्न दलहरू छलफलमा


    जनकपुरधाम, भदौ ५ गते । प्रदेशसभाले तोकेको बिहीबारभित्रको समयसीमामा प्रदेश २ को नाम र राजधानी प्रस्ताव गर्न दलहरू गहन आन्तरिक छलफल जुटेका छन्।

    [custom-facebook-feed]

    प्रदेश सरकारले नाम र राजधानी टुंग्याउन ढिलाई गरेपछि प्रदेशसभाको साउन २६ गते बसेको बैठकमा सभामुख सरोज यादवले भदौ ५ गतेसम्म नाम र राजधानीको प्रस्ताव ल्याउन सूचना जारी गरेपछि दलहरूबीच आन्तरिक छलफलको माहोल गर्माएको हो। 

    संविधानमा दुई तिहाइ बहुमतले प्रदेशको नाम र राजधानी टुंग्याउने प्रावधान छ। तर, प्रदेश २ मा कुनै दलसँग दुई तिहाइ बहुमत छैन। त्यसैले सत्तापक्ष र विपक्ष नमिलेसम्म यो मुद्दा टुंगिन सम्भव देखिँदैन।

    राजधानी जनकपुरमै राख्नेमा बहुमत देखिएपनि अहिले राजधानीबारे नयाँ धारणा पनि आएको छ। राजधानी जनकपुर बाहिर ‘नयाँ जनकपुर’मा राख्ने नयाँ प्रस्तावमा पनि छलफल हुन थालेको बताइएको छ। सत्तासीन दल समाजवादी पार्टी पनि नाम र राजधानीमा गिभ एन्ड टेकको मुडमा देखिएको छ। 

    नेकपाका अध्यक्ष पुष्पकमल दाहालले मंगलबार संसदीय दलको बैठकलाई सम्बोधन गरेलगत्तै प्रदेशको नाम र राजधानीबारे दलले पहिलो पटक औपचारिक छलफल गरेको छ। 

    संसदीय दलको बैठकमा सहभागी सांसदले प्रदेशको राजधानी धनुषा तोक्ने नयाँ सुझाव प्रस्तुत गरे। प्रदेश २ को राजधानी जनकपुरमा राख्नेमा दलहरुबीच एकमत देखिएपनि धनुषा भनेर नेकपाले राजधानीबारे नयाँ बहस अघि सारेको हो। 

    नेकपाका सांसदहरुले प्रदेशको राजधानी जनकपुरको विकल्पमा ‘नयाँ जनकपुर’ हुनुपर्ने प्रस्ताव ल्याएको बैठकमा सहभागी सांसद शारदा थापाले बताइन्।

    ‘राजधानी जनकपुर बाहिर नयाँ जनकपुरमा राख्ने पनि सुझाव आएको छ,’ सांसद थापाले भनिन्, ‘नयाँ जनकपुर भनेको रातु खोलाको पश्चिम र कमला नदीको पूर्वको भागलाई भनिएको हो।’ उनले नयाँ जनकपुरका लागि ढल्केबर, महेन्द्रनगर, वीरेन्द्रबजार लगायत क्षेत्रमा राजधानी राख्ने विषयमा आन्तरिक रुपमा छलफल भएको बताइन्।

    प्रदेश २ मा नेकपाका ३२ सांसद छन्। संसदीय दलको बैठकमा २७ जना सांसदले प्रदेशको नाम र राजधानीबारे आफ्नो राय दिएका छन्। नेकपाका दुई सांसद जगत यादव र भरत साहले प्रदेश २ को नाम मधेस राख्नुपर्ने सुझाव दिएका थिए।

    नेकपाले प्रदेशको नाम र राजधानीबारे आफ्नो सांसदको धारणा बुझ्न संसदीय दलको बैठक बोलाएको थियो। नेकपाकी सचेतक बेची लुंगेलीका अनुसार दलको बैठकमा धारणा राख्ने २७ सांसदमध्ये २५ जनाले प्रदेशको नाम मिथिला–भोजपुरा र राजधानी धनुषा हुनुपर्ने तर्क गरेका थिए।

    ‘प्रदेशको नाम मधेस, जानकी, जनकनन्दनी राख्न समेत सुझाव आयो, ’नेकपाकी सचेतक लुंगेलीले भनिन, ‘धेरैले मिथिला–भोजपुरा, २ जना सांसदले मधेस र २/३ जनाले जानकी र जनकनन्दनीको नाम पनि सुझाए।’ प्रदेशको नाम र राजधानीबारे संसदीय दलको बैठकमा सांसदले दिएको सुझाव नेकपा मुख्यालयमा पठाइने छ।

    यसरी प्रमुख प्रतिपक्ष नेकपाको संसदीय दल बैठकमा अधिकांशले नाम मिथिला–भोजपुरा र राजधानी धनुषा हुनुपर्ने सुझाएका छन् भने सत्तारूढ समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) पनि प्रदेशको नाम र राजधानीका विषयमा बुधबार नै छलफलमा जुटेका छन्।

    विपक्षी कांग्रेसले प्रदेशको नाम मिथिला वा जानकी र राजधानी जनकपुर हुनुपर्ने बटमलाइन रहेको जनाएको छ। संसदीय दलमा छलफल टुंगिएकाले निष्कर्षसहित बिहीबार प्रदेशसभामा प्रस्ताव दर्ता गराउने मुख्य सचेतक उपेन्द्र कुशवाहले बताए। ‘नामबारे मिश्रित धारणा छ। राजधानी जनकपुर हुनेमा सबै क्लियर छन्,’ उनले भने, ‘प्रदेशको नाममा मिथिला, भोजपुरा, जानकी, मध्य-मधेससम्मको सुझाव आएको छ।’

    सत्तारूढ समाजवादी पार्टी मधेस प्रदेश र राजधानी जनकपुरमा राख्नुपर्ने अडानमा छ। पार्टीको संसदीय दलका उप–नेता रामआशिष यादवले प्रदेश २ को नाम र राजधानीबारे बिहीबार संसदीय दलको बैठकमा विचार–विमर्श हुने बताए।

    समाजवादी पार्टीले राजधानी जनकपुरमा आफ्नो अडान रहेको दाबी गरेपनि पार्टीभित्र अन्य ठाउँबारे पनि बहस सुरु भएको छ।

    सत्तासीन दल समाजवादी र राजपाले प्रदेशको नाम मधेसमा विपक्षी दल सहमत भए राजधानी विपक्षी दलले रोजेको ठाउँलाई नै तोक्ने मुडमा देखिन्छन्। ‘प्रदेशको नामलाई पेचिलो बनाउँदा राजधानी कहाँ राख्ने मुद्दा पनि जोडिएर आएको छ,’ समाजवादी पार्टीका एक सांसदले भने, ‘हामी नाम र राजधानीमा गिभ एन्ड टेकको मुडमा छौं।’

    सत्तासीन अर्को दल राजपा भने प्रदेशको नाम मधेस र राजधानी जनकपुर बनाउने प्रयासमा छ। उसले विपक्षी दलको पनि सहयोग लिन चाहेको देखिन्छ। बुधबार अबेरसम्म बसेको राजपाको संसदीय दलको बैठकमा प्रदेशको नाम र राजधानी के–कहाँ राख्ने मुद्दा भन्दा यो मामिलामा आफ्नो एजेन्डामा विपक्षी दललाई कसरी सहमत गराउने रणनीतिमै छलफल केन्द्रित भएको बताइएको छ। 

    राजपाका सह–महामन्त्री एवं प्रदेश २ का राज्यमन्त्री सुरेश मण्डलले प्रदेशको नाम मधेस र राजधानी जनकपुरमा राख्नुपर्ने प्रस्तावमा आफ्नो दल अडिग रहेको बताए । साभार : नेपाल लाइभ


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राजनीति, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस