• The Public Today
  • प्रदेश २ : राजधानी र नामाकरणको प्रस्ताव दर्ता गराए लगत्तै नेकपामा भाँडभैलो


    रोहित महतो
    जनकपुरधाम, भदौ ८ गते ।
    प्रदेश २ का प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेशको नामाकरण र राजधानीकालागि प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराए लगत्तै पार्टीभित्र भाँडभैलो सुरु भएको छ।

    [custom-facebook-feed]

    नेकपाले प्रदेशको नाम जानकी र राजधानी जनकपुर प्रस्ताव गरेका हुन्। पार्टीका सम्पूर्ण प्रदेशसभा सांसदहरुसँग विचार विमर्श नै नगरी प्रदेशको नामाकरण र राजधानीकालागि प्रस्ताव गरेको भन्दै पार्टीभित्र आन्तरिक द्वन्द सुरु भएको हो। राजधानीको सन्दर्भमा नेकपाका करिब सम्पूर्ण प्रदेशसभा सदस्यहरु एकमत नै नरहेपनि नामाकरणमा विभाजित भएपछि विवाद चर्किएको हो।

    भदौ ३ गते बसेको नेकपा संसदीय दलको बैठकमा सांसदहरुले प्रदेशसभा सांसदहरुले मिथिला भोजपुरा, मिथिला भोजपुरा मधेस, जानकी, जनक, तराईँ लगायतका नामहरु प्रस्ताव गर्दै संसदीय दलमा बुझाएका थिए। तर नामाकरणमा सांसदहरुको प्रस्ताव अल्पमतमै परे। ‘सबै सांसदहरुले आ–आफ्नो नाम प्रस्तुत गरे तर कुनै नाममा बहुमत देखिएन,’ बैठकमा सहभागी एक सांसदले भने।

    भदौ ५ गते नेकपाले राजधानी र नामाकरणबारे अन्तिम निर्णय गरी पार्टीको तर्फबाट प्रदेशसभा सचिवालयाम प्रस्ताव दर्ता गराएको थियो। तर अधिकांश सांसदहरु अनुपस्थित रहेकै बेला प्रदेशको नामाकरण र राजधानीबारे पार्टीको आधिकारीक निर्णय लिएको भन्दै नेकपाका करिब १२ जना सांसदहरुमा व्यापक असन्तुष्टि रहेको स्रोतको दाबी छ। ‘हामी १० जना सांसद मधेस प्रदेशको पक्षमा छौँ। संसदीय दलको बैठकमा जानकी प्रदेशमा अल्पमत थियो तर हामीलाई बेवास्ता गरी दलका नेता अघि बढेको छ। बैठकमा हामीलाई बोलाइएन,’ नेकपाका एक सांसदले नेपालन्युजसँग भने।

    अन्य मुद्दाहरुमासमेत संसदीय दलका नेता सत्यनारायण मण्डलले एकलौटी निर्णय गर्ने गरेको बताउँदै नेकपाका ती सांसदले प्रदेश नामाकरणमा जस्तो महत्वपूर्ण विषयमा आफुहरुलाई बेवास्ता गरेकाले यसबारे पुनर्विचार गरिनुपर्ने बताए। पार्टीको अनुशासन विपरीत नै जानुपर्ने अवस्था नआइसकेको भन्दै असन्तुष्ट सांसदहरु खुलेर बोल्न चाहेका छैनन्।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राजनीति, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस