• The Public Today
  • प्रदेश २ : मन्त्रालयले अनुदानमा बाँडेको कृषि उपकरण पार्टी कार्यकर्तालाई


    रोहित महतो
    जनकपुरधाम, भदौ १२ गते ।
    प्रदेश नं २ का भूमी व्यवस्था, कृषी तथा सहकारी मन्त्रालयले अनुदानमा बाँडेको अधिकांश कृषि उपकरण पार्टीका कार्यकर्तालाई वितरण गरेको पाइएको छ।

    [custom-facebook-feed]

    सिँचाइका लागि किसानलाई वितरण गरिएको अधिकांश सोलार पम्प मन्त्रालयले सत्तारुढ समाजवादी र राष्ट्रिय जनता पार्टी (राजपा) का कार्यकर्तालाई वितरण गरेको हो।

    तरकारी खेती गर्ने किसानलाई प्राथमिकतामा राख्दै मन्त्रालयले आर्थिक वर्ष २०७५/७६ मा प्रदेशका आठै जिल्लामा २ सय ३२ वटा सोलार पम्प वितरण गरेको छ।

    मन्त्रालयबाट सोलार पम्प पाएका किसानको नाम विवरणमा अधिकांश समाजवादी पार्टी र केही राजपाका कार्यकर्ताले सोलार पम्प पाएका हुन्। जसमध्ये सबैभन्दा बढी कृषि, भूमी व्यवस्था तथा सहकारी मन्त्रीको गृहजिल्ला सप्तरीमा वितरण गरिएको छ। सप्तरीमा मात्र ४८ वटा पम्प वितरण गरिएको छ भने महोत्तरीमा सबैभन्दा कम ११ वटा वितरण भएको मन्त्रालयले जनाएको छ।

    यस्तै सिरहामा २६, धनुषा ४५, पर्सा २१, बारा २३, रौतहट १४ र सर्लाही ४४ पम्प वितरण भएको हो। १ लाख १ हजार रुपैयाँ पर्ने एउटा सोलार पम्पमा ८५ प्रतिशत रकम सरकारले अनुदान दिएको छ भने १५ प्रतिशत किसानले स्वयम् तिर्नुपर्ने छ।

    सोलार पम्प पाउनेमा सत्तारुढ समाजवादी र राजपाबाट निर्वाचित वडाध्यक्ष, वडासदस्य र समान्य कार्यकर्ता छन्। वास्तविक किसान नभए पनि पार्टीका कार्यकर्ताले कृषि उपकरण पाएको भेटिएको हो। प्रदेश सरकारले वितरण गर्ने अन्य कृषियन्त्र समेत सत्तारुढ पार्टीका कार्यकर्ताले मात्र पाउने गरेको सांसदहरूले प्रदेशसभामा समेत आरोप लगाउँदै आएका छन्।

    पछिल्लोपटक बसेको प्रदेशसभा बैठकमा नेपाल कम्युनिस्ट पार्टीका सांसद दिलीप साहले सांसदकै नातागोताको नाममा कृषियन्त्र पठाइएको आरोप लगाएका थिए। नेपाली कांग्रेसका सांसदहरूले पनि सरकारले आफ्ना कार्यकर्तालाई मात्र कृषि उपकरण वितरण गरेको आरोप लगाउँदै आएका छन्। समाजवादी पार्टीका व्यक्तिबाहेक सोलार पम्पका लागि आवेदन दिएका कुनै किसानले उपकरण नपाएको व्यापक गुनासो आइरहेको मन्त्री साहका गृह जिल्ला सप्तरीकी सांसद गीता यादवको आरोप छ।

    उपकरण वितरणबारे सांसद बेखबर

    कृषि मन्त्रालयले सोलार पम्प वितरण गरेको सत्तापक्षका साथै प्रतिपक्षका अधिकांश सांसदलाई थाहै छैन। सत्तारुढका अधिकांश प्रतिपक्षीले उपकरण वितरणमा बेखबर रहको प्रतिक्रिया दिए।

    राजपा सांसद उपेन्द्र महतोले प्रदेश सरकारले गरेको निर्णय सञ्‍चारमाध्यमबाट मात्र थाहा पाउने गरेको गुनासो गरे। ‘सरकारले गरेको कामबारे हामीलाई केही थाहा छैन। हामीसँग कुनै सरसल्लाह नै गर्दैनन्, सरकार एकलौटी रूपमा चलेको छ,’ महतोले भने, ‘सोलार पम्प कसलाई कुन आधारमा कहिले वितरण भएको हो मलाई थाहा भएन।’

    कांग्रेस सांसद शिवचन्द्र चौधरीले समेत आफूहरूलाई यस विषयमा केही दिनअघि मात्र सुनेको प्रतिक्रिया दिए। ‘मन्त्रिपरिषद् बैठकमा निर्णय गरी पार्टीका सीमित कार्यकर्तालाई उपकरण वितरण गरिएको छ। यसमा सतप्रतिशत बेइमानी भएको छ,’ सांसद चौधरीले भने।

    समाजवादी पार्टीका सांसदबाहेक कुनै सांसदलाई सोलार पम्प वितरणबारे केही थाहा नभएको उनको दाबी छ। नेकपा सांसद शारदा थापाले पनि सोलार पम्प वितरण विषयमा केही जानकारी नरहेको दाबी गरिन्। ‘राजपा र समाजवादी पार्टीका मन्त्रीले आ-आफ्ना मान्छेलाई दिएको होलान्। हामीलाई थाहा नै छैन,’ उनले भनिन्।

    तर, कृषिमन्त्री शैलेन्द्र साहले भने प्रक्रिया पूरा गरी पारदर्शी हिसाबले मात्र सोलार पम्प वितरण गरिएको दाबी गरे।

    पत्रिकामा सूचना निकालेर मापदण्डअनुसार पम्प वितरण गरिएको उनले बताए। ‘सीमित किसानलाई मात्र वितरण गरिएको छ। किसानको आवश्यक्ता पूर्ति गर्न यसपालि फेरि पनि हामी यो योजना राख्छौं,’ उनले भने, ‘सांसदको घरघर पुगेर चिठी पठाएर जानकारी गराउने प्रचलन छैन। पत्रिकामा सूचना आउँछ, वेबसाइटमा सबै कुरा राखिएका छन्।’ नेपाल न्यूज


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राजनीति, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस