• The Public Today
  • कमिसनको चक्करमा समितिमा विवाद, शहिद अस्पतालको बाउण्ड्री कार्यमा अनियमितता


    किरण कर्ण-
    जनकपुरधाम, भदौ १३ गते :
    शहिद दुर्गानन्द झा अस्पतालको कम्पाउण्ड बाउण्ड्री लगायतका कार्यमा संस्थागतरुपमै अनियमितता भएको पाइएको छ । धनुषाको नगराइन नगरपालिका २ स्थित जटहीमा १० वर्ष पूर्व देखि छुट्याएर राखिएको जग्गा घेराउको नाममा करिब ११ लाख रुपैयाँ अनिमितता भएको हो ।

    [custom-facebook-feed]

    वर्षौदेखि शहिद दुर्गानन्द झाको जन्मथलोमा उनको नाममा अस्पताल निर्माणका लागि स्थानीयवासीले देखेको सपना बल्ल साकार हुने भन्दै स्थानीयवासीहरुको उपस्थितीमा शहिद दुर्गानन्द झा कम्पाउण्ड वाल निर्माण उपभोक्ता समिति गठन गरेको थियो ।

    धैर्यु मिश्रको अध्यक्षतामा रहेको ११ सदस्यीय समितिले वाल बाउण्ड्री, माटो पुर्नुपर्ने र ३ वटा मुलद्वार निर्माण गर्नुपर्ने थियो । जसमध्ये यस समितिले वाल बाउण्ड्रीको कार्य मात्रै गरेको छ भने निर्धारण गरिएको बमोजिमको माटो र मुलद्वारमा ढोका निर्माण देखि लगाउने कार्य अझै पनि बाकी नै छ ।

    तर नगराइन नगरपालिकाको सिफारिसमा संसदीय विकास कोषबाट प्राप्त गरी ५० लाख रुपैया रकमबाट नेपाल सरकारको खातामा डेढ प्रतिशत रकम बजेटबाट कट्टा गरी ४८ लाख ४४ हजार रुपैया दुई चरणमा खातामा सबै रकम पाएका थिए । कार्य आरम्भ बेलामा सो समितिले २० लाख ६३ हजार रुपैया खातामा पाएको कोषाध्यक्ष रोहित चौधरीले जनाए । उनका अनुसार कार्य सम्पन्न भएको भन्दै पछि खातामा २७ लाख ८१ हजार रुपैया पाएको थियो ।


    चलखेल यसरी भयो
    यस समितिले कार्य थालनी गर्दा खातामा करिब २१ लाख रुपैया प्राप्त गरेको थियो । सोही बेला देखि नगराइन २ का अध्यक्ष देवनारायण यादव लगायतकाले अप्रत्यक्षरुपमा बार्गेनिंग गर्न थालेको थियो । तर कोषाध्यक्ष रोहित चौधरीले ठोस काम सम्पन्न नहुदाँ सम्म कुनैकिसिमको चलखेल वा बाँडफाँड नहुने भनेपछि वितेको असार मसान्तमा वडाध्यक्ष देवनारायण यादव, उपभोक्ता समितिका अध्यक्ष धैर्यु मिश्रले केही कर्मचारी र नगरप्रमुख परमेश्वर यादवसंग कुराकानी गरी अनुगमनको सिध्याए । बाउण्ड्री, मुलद्वारको ढोका, माटो पुर्ने काम सम्पन्न भएको भन्दै कागजीप्रक्रिया पुरा गरेर रकम निकासा गराए ।
    सो रकम समितिको नाममा मेघा बैंकमा रहेको खातामा अन्तिम चरणमा भुक्तानी भएको २७ लाख ८१ हजार रुपैयाँका लागि नगराइन नगरपालिकाको कार्यालयमा सिफारिस लिन गएको बेला समितिका कोषाध्यक्ष रोहित चौधरीलाई वडाध्यक्ष देवनारायण यादवले १० प्रतिशतको ठाउँमा ८ प्रतिशत रकम नगरपालिकाका एक कर्मचारीको नाममा दिन भने तर त्यसको अर्को दिन नगराइन नगरपालिका सब इञ्जिनियर उमेश मण्डल घुस सहित रंगेहात अख्तियारको फन्दामा परे ।

    त्यसलगत्तै वडाध्यक्षले कोषध्यक्ष रोहित चौधरीलाई नगरपालिकाका कर्मचारी अमृत नारायण मिश्रको नाममा चेक नकाट्न आग्रह गर्दै आफ्नै नाममा उपलब्ध गराई नगदी रकम दिन भनेपछि सोहि अनुसार उनले सो रकम वडाध्यक्ष देवनारायण यादवलाई उपलब्ध गराएको बताए ।

    उनले ८ प्रतिशत अनुसार करिब साढे ३ लाख रुपैया उपलब्ध गराएपछि उपभोक्ता समिति भित्र अध्यक्ष र कोषाध्यक्ष वीचको मनमुटाव समेत केहि हदसम्म मेटिएको दावी कोषाध्यक्ष रोहित चौधरीले गरे ।
    तर वडाध्यक्ष देवनारायण यादवले आफुमाथि झुठा आरोप लगाएको भन्दै खण्डन गरे । उनले आफुमाथि अख्तियार वा कसैले पनि घुस लिएको वा अधुरा कामलाई पुरै काम भएको भनि सबै रकम भुक्तानी दिनका लागि सिफारिस गरेको हो भने आफु राजिनामा दिन समेत तयार रहेको बताए । उनले भने– निर्माण कार्य पुरा भइसकेपछि मात्रै रकम निकासाका लागि सिफारिस दिइएको हुँ ।
    अस्पतालको पूर्वाधार निर्माणका लागि उपभोक्ता समिति १७ कठ्ठा जग्गामा बाउण्ड्रीको करिब २५ मिटर घेराउ कार्य भएको छैन भने त्यस्तै २ वटा मुलद्वारमा ढोका लगाउने कार्य र ६ सय ९७.५ घनमिटर माटो पुर्ने कार्य मध्ये हालसम्म ३० घनमिटरसम्म माटो पुर्ने कार्य बाकी नै छ ।
    ५० लाख रुपैया मध्ये सरकारले लिने गरेको डेढ प्रतिशत करकट्टा बाहेक ८ प्रतिशत कमिसन र वाल बाउण्ड्रीका लागि ईटा, सिमेन्ट, छड, बालुवा, माटो, तारजाली लगायतको कार्यमा करिब ३४ लाख बराबरको कार्य भएको कोषाध्यक्ष रोहित चौधरीले बताए ।


    उनले कार्य सम्पन्न नभएको कार्यलाई नगरपालिकाले अपुरो कार्यलाई कसरी कुन प्रक्रियाले काम सम्पन्न भएको भनि अनुगमन गरी भुक्तानीका लागि सिफारिस गरेको भन्दै प्रश्न गरे ।


    खाताको रकमले विवाद निम्त्याउदैँ
    शहिद दुर्गानन्द झा कम्पाउण्ड वाल निर्माण उपभोक्ता समितिले जनकपुर स्थित मेघा बैंकमा रहेको खातामा अहिले साढे १० लाख रुपैयाँ छ । सो साढे १० लाख रुपैयाका लागि बाँडफाँड गर्न समितिका अध्यक्ष धैर्यु मिश्रले पटक पटक दवाव दिदैँ आएका छन् । तर कोषाध्यक्षले काम अझै पनि बाकी नै रहेको र काम सम्पन्न नहुदाँ सम्म रकम बाँडफाँड नहुने बताउदैँ आएका छन् ।


    अध्यक्ष धैर्यु मिश्रले बाउण्ड्री निर्माण लगायतका कार्य सम्पन्न भइसकेकाले हामीमा कुनै किसिमको विवाद नरहेको बताएपनि यता आन्तरिकरुपमा कोषाध्यक्ष र सचिव रिता कुमारी चौधरीले रकम हिनामिना गर्न सक्ने भन्दै बैंकमा खाता नै रोका गर्न भनि नगराइन नगरपालिकाबाट बैंकलाई पत्राचार पठाएको छ ।


    तर कोषाध्यक्ष रोहित चौधरीले रकम खर्चको लागि शिर्षक अनुसार समितिको बैठक बसेर निर्णय गरी अध्यक्ष र कोषाध्यक्षको संयूक्त खाता रहेकाले हिनामिना हुने सम्भावना नै नभएको बताए । उनले खातामा रकम रहेको तर काम सम्पन्न नभएको अवस्थामा बाँडफाँडका लागि रकम निकाल्न नसकिने भन्दै उनले नगरपालिकाको गलत नियतको कारणले उपभोक्ता समिति बदनाम हुन पुगेको आरोप लगाए ।


    उपभोक्ता समितिका सचिव रिता देवी चौधरीले पनि ढोका लगाउनु, माटो पुर्नु र एक ठाउँमा २५ मिटर जति बाउण्ड्री घेर्ने कार्य बाकी नै रहेकोले सो कार्य पुरा गर्न अध्यक्ष धैर्यु मिश्रलाई पटक पटक दवाव दिदैँ आएको बताइन् ।


    हुन त उपभोक्ता समितिको अर्थ स्थानीयवासीको अगुवाई तथा सहभागितामा श्रमदान वा सरकारले छुट्याएको रकम मध्ये १० प्रतिशत लगानी लगाउनुपर्ने हुन्छ । तर स्थानीयस्तरमा लगाउनपर्ने लगानी विना नै गठन गरिएको उपभोक्ता समितिबाट पनि जनप्रतिनिधिले कमिसन ताकेपछि काम भन्दा दाम नै अधिकांशले रोज्न चाहेको देखिन्छ । तसर्थ सरकारले यसको विकल्प समेत खोज्नुपर्ने देखिन्छ ।
    धनुषाको क्षेत्र नम्बर ३ का सांसद राजेन्द्र महतोको संसदीय विकास कोषबाट ५० लाख रुपैयाँको लागतमा शहिद दुर्गानन्द झाको अस्पतालको पर्खाल संरचनाको कार्यको लागि छुट्याइएको थियो ।
    प्रथम चरणमा अस्पतालको पर्खालले घेर्ने कार्य मात्रै भएकाले पूर्वाधार लगायत अन्य संरचनाका लागि पनि स्थानीयवासीहरुकै पहलमा हुने भएकाले प्रथम चरणमा अस्पतालको जग्गा घेरेर सुरिक्षत गर्ने कार्य भएको हो ।


    स्थानीयवासीहरुको १० वर्षपूर्व देखि नै शहिद दुर्गानन्द झाको नाममा अस्पताल बनाउने सपना बुनेका थिए । सो सपनाका लागि विभिन्न सरकारसंग अस्पताल निर्माणका लागि पहल समेत गरेका थिए ।


    डा. बाबुराम भट्टराईले शहिद दुर्गानन्द झा महिला प्रसुति अस्पताल निर्माणका लागि १० करोड रुपैया बजेट छुट्याइएको घोषणा गरेपछि साढे १७ कठ्ठा जग्गामा अत्याधुनिक सुविधायूक्त ५० शैय्याका अस्पताल निर्माण गर्ने लक्ष्य रहेको छ ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस