• The Public Today
  • शैक्षिक आकर्षणको केन्द्र बन्दै बर्दिवास


    गोपाल प्रसाद बराल
    बर्दिवास, भदौ १४ गते ।
    महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका शैक्षिक केन्द्र (हव) का रुपमा बिकास गर्दैछ ।

    [custom-facebook-feed]

    नगरभित्र विभिन्न बिधाको उच्चतहको पठनपाठन भइरहेको र थप विषयका कलेज स्थापनाको प्रकृया धमाधम अघि बढेसँगै बर्दिवास शैक्षिक केन्द (हव) का रुपमा बिकास हुँदै गएको हो । बर्दिवास–१४ मा बर्दिवास जनता बहुमुखि क्याम्पस सञ्चालित छ । त्रिभुवन विश्व विद्यालयको आङ्गिक यो क्याम्पसमा शिक्षा संकायमा स्नातकोत्तरसम्म र बाणिज्य सकायमा ं स्नातक तहसम्मको पठनपाठन भइरहेको छ ।

    त्यसैगरि बर्दिवास–६ किसाननगरमा कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको आङ्गिक प्राकृतिक स्रोध साधन कलेज सञ्चालित छ । कलेजमा मुलुकभरिका ५४ जना छात्रछात्राले कृषि तथा वन विज्ञान संकायभित्रका बिभिन्न बिषयमा स्नातक तहको अध्ययन गरिरहेका छन् । बर्दिवासमै गत आर्थिक वर्ष २०७५÷०७६ मै बर्दिवास मेडिकल कलेजको कार्यालय स्थापना भएर तत्सम्बन्धी काम अघि बढेको छ ।

    बर्दिवास मेडिकल कलेजको कार्यालय स्थापना भएर अन्य तयारी अघि बढेपछि यसको आकर्षणले बर्दिवासमा घरजग्गा जोड्ने र व्यापारव्यवसायका लागि यो ठाउँ रोज्नेको संख्या ह्वात्तै बढेको बर्दिवास उद्योग बाणिज्य संघका अध्यक्ष प्रल्हाद क्षत्री बताउँछन् । पछिल्लोपटक बर्दिवास–१४ स्थित बर्दिवास जनता बहुमुखि क्याम्पसमा स्नातकोत्तर तहको पठनपाठन शुरु भएपछि वरपर उच्च शिक्षा पढ्न नपाएर घरब्यवहारमा थन्किएका छोरी÷बुहारी र जागिर वा बन्दब्यापारमा लागेकाहरुलाई उच्च शिक्षा लिन राम्रो अवसर बनेको छ ।

    क्याम्पसमा अहिले स्नातकोत्तर तहको अध्ययन गरिरहेका ३४ मध्ये २० छात्रा छन् । यि सबै केही वर्ष अघि नै स्नातक तह सकेर आफ्नो काममा लागेका छोरी÷बुहारी रहेका क्याम्पसका प्राचार्य तोपबहादुर ठकुरी बताउँछन् । प्राकृतिक स्रोतसाधन कलेजमा भने मुलुकको पश्चिमी क्षेत्रका छात्रछात्राको संख्या बढी छ । सुदुर पश्चिम प्रदेशका मात्रै १० छात्रछात्रा रहेका कलेज प्रशासनले जनाएको छ ।

    यसबाहेक बर्दिवास–११ खयरमारामा निर्मल लामा बहुप्राविधिक शिक्षालय गतबर्ष नै सञ्चालनमा आएको छ । ब्यावसायिक शिक्षा परिषद ( सिटीइभिटी) बाट सम्बन्धनप्राप्त डिप्लोमा (स्नातक) तहको पठनपाठन हुने यो शिक्षालयमा सर्वे (नापी, अमिनी), वन, सिभिल इञ्जिनियरिङ्ग, होटल व्यवस्थापन (होटल म्यानेजमेन्ट) र फुड ऐण्ड डेरी विषयमा स्नातक तहको पठनपाठन हुँदैछ ।

    यसैगरि बर्दिवास–६ किसाननगरस्थित जनहित नन्दलाल माध्यमिक बिद्यालयमा सिटिइभिटीकै सम्बन्धनमा सिभिल इञ्जिनियरिङ्गको पठनपाठन शुरु भएको दुई वर्ष नाघी सकेको छ । यस्तै बर्दिवास, गौरीडाँडास्थित जनता माध्यमिक विद्यालयमा सिटिइभिटीकै सम्बन्धनमा पशु तथा वन विज्ञान विषयमा तीन वर्ष अघि नै पठनपाठन शुरु भएको हो ।

    शैक्षिक साधन , आधुनिक कक्षा कोठा, प्रयोगशाला, पुस्तकालय र शैक्षिक अनुशासनमा कहलिएको यो विद्यालयमा पढ्न चाहनेको संख्या निकै भएपनि कोटा निर्धारणले सबैले मौका पाउन नसकेका बर्दिवास–३ का वडाअध्यक्ष राजन ढुङ्गानाको भनाइ छ । बर्दिवास–१ स्थित देउराली माध्यमिक बिद्यालयमा वन विज्ञान बिषयको स्नातक तहको पठनपाठन भइरहेको छ ।

    यसैगरि बर्दिवास–२ स्थित यस क्षेत्रकै पुरानो जनता माध्यमिक बिद्यालयले अटो मोवाइल विषयको डिप्लोमा तह पठनपाठनका लागि सिटिइभिटीसँग सम्बन्धन प्रक्रिया अघि बढाएको छ । यसबाहेक १४ वडा बस्ती रहेको नगरक्षेत्रमा ५२ वटा सामुदायिक विद्यालय रहेका छन् । सबै बिद्यालय र कलेजमा सरोकारवाला सम्बद्ध पक्षको नियमित अनुगमन हुँदै आएको बर्दिवास नगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिब रेवती पराजुली बताउँछन् ।

    “विद्यालय र कलेजहरुमा भइरहेको पठनपाठनबारे सबैक्षेत्र चनाखो छन्” उपसचिव पराजुलीले भने, “सम्बन्धित विश्व विद्यालय प्रशासन, सिटिइभिटी र नगरपालिकाको शिक्षा शाखाबीच राम्रो समन्वय छ, यहाँ त बिद्यालयमा शिक्षक गएनगएका, पढाइ भएनभएको र विद्यार्थी उपस्थितिबारे अभिभावकले नै चासोपूर्वक गुनासो गर्ने गरेका छन् ।” जागिर खाने मनोवृतिका शिक्षक र विद्यार्थी उपस्थिति राम्रो नभएपनि भर्ना संख्या देखाएर कागजमा उपलब्धी देखाउने विद्यालय प्रशासनको चलाकी चल्न अभिभावकले नै नदिने उपसचिव पराजुलीको भनाइ छ । नगरको मुख्य चिनारी नै शैक्षिक केन्द्र बनाउने बर्दिवास नगरपालिकाको उद्देश्य छ ।

    “हामी बर्दिवास पढ्न जाने ठाउँ हो भनेर मुलुकभरिमै परिचय बिस्तार गराउन चाहान्छौ” नगरपालिकाका प्रमुख बिदुरकुमार कार्की भन्छन्–, “यसका लागि स्वच्छ शैक्षिक प्रशासन, सुरक्षित बसोबास व्यवस्थापन र पूर्ण शैक्षिक वातावरण अत्यन्त महत्वका पूर्वसर्त हुन्, हामीले यसको चाँजो यथासक्य मिलाएका छौं ।” बर्दिवासका शैक्षिक संस्थामा अध्ययन गरिरहेका आफ्ना सन्तानबारे घरका अभिभावक ढुक्क हुने स्थिति बनाउनसक्नु खास उपलब्धी भएको नगरप्रमुख कार्कीको थप भनाइ छ ।

    पछिल्लो पटक संघीय सरकारमा बर्दिवास नगरपालिकासमेतको महोत्तरी–१ प्रतिनिधिसभा क्षेत्रबाट निर्वाचित गिरिराजमणि पोखरेल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेपछि यहाँको शैक्षिक विकासको कुराले राम्रो फड्को मारेको यहाँका बुद्धिजीवी बताउँछन् । “स्थानीयतहको नेतृत्व शिक्षाप्रति समर्पित छ, माथिल्लो (संघीय सरकार) तहको साथ छ” विगतमा ३५ वर्ष शिक्षा क्षेत्रमा सेवा गरेर पछिल्ला दिनमा सामाजिक कार्यमा सकृय रहँदै आएका बर्दिवास–१ का लिला बिक्रम थापा भन्छन्– “अहिलेको तत्परता कायम रहे बर्दिवास राजधानी बाहिरको मुख्य शैक्षिक केन्द्रका रुपमा मुलुकभरिमै परिचित हुनेछ ।”

    पूर्वपश्चिम राजमार्ग, बिपी राजमार्ग, बर्दिवास–जलेश्वर सडक र बर्दिवास– गौशाला–सम्सी सडकको सङ्गम हुनु, टुटेश्वरधाम, राइमण्डल र पञ्चधुरा माईस्थानसहितका अति प्राचीन धार्मिकस्थल रहेको र नगर ओरपर रमणीय सघन वनक्षेत्र हुनुले बर्दिवास नगरको परिचय बिस्तारमा सघाउ पु¥याएको यहाँका बुद्धिजीवीको भनाइ छ । यसबाहेक नेपाली सेनाको पूर्वीमध्य पृतना र सशस्त्र प्रहरीको प्रदेश कार्यालयसमेत यसै ठाउँमा हुनुले यहाँ पढ्न आउने बिद्यार्थी र उनका अभिभावकमा आफ्ना सन्तानबारे सुरक्षाको कुरामा ढुक्क हुने अवस्थाले बर्दिवासलाइ शैेक्षिक केन्द्र बनाउने उद्देश्यमा सघाउ पुगेको देउराली माध्यमिक बिद्यालयका प्रधानाध्यापक केदार कोइराला बताउँछन् ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस