• The Public Today
  • दुर्व्यवहार र फोहोर फालेको विरोधमा विरोध प्रदर्शन


    भरत जर्घामगर
    सिरहा, भदौं १५ गते :
    ५ महिनादेखि फोहोर फाल्न नदिने अडान लिएका सिरहा जिल्लाको लहान नगरपालिका–४ का स्थानीयले नगरपालिकाले प्रहरीको आडमा महिलामाथि दुर्व्यवहार गरेको र फोहोर फालेको विरोधमा शनिबार विरोध प्रदर्शन गरेका छन् ।

    [custom-facebook-feed]

    ५ महिनादेखि फोहोर फाल्न नदिने अडान लिएका वडा नम्बर ४ का स्थानीयबासिन्दाको अवरोधका कारण एक महिनादेखि सडकमा थुप्रिएको फोहोर फाल्न प्रहरीसहित नगरप्रमुख मुनि साह सुडिलगायत अन्य वडाका जनप्रतिनिधि शुक्रबार फोहरमैला व्यवस्थापन केन्द्र पुगेका थिए।

    स्थानीयले अदालतमा विचाराधीन रहेको मुद्दाको फैसला नहुन्जेल फोहोर नफाल्न भन्दै नाराबाजी गरी फोहोर बोकेका ट्रयाक्टर रोकेपछि झडप भएको थियो। झडपकै क्रममा नगरपालिकाले केन्द्रमा शुक्रबार फोहोर विसर्जन गरेको थियो।

    फोहोर विसर्जनका क्रममा झडप हुँदा वडा सदस्य उर्मिलादेवी दास, स्थानीय राधादेवी दास, रामकुमारी पासवान, राजाराम पण्डित लगायत घाइते भएको स्थानीयको दाबी छ।

    नगरपालिकाले अदालतको मानहानी गरेको र प्रहरी लगाएर दमन गरेको विरोध गर्दै ४ नम्बर वडावासीले शनिबार नगरप्रमुख साहको पुत्ला बनाएर नगरका विभिन्न भाग परिक्रमा गरि विरोध प्रदर्शन गरे।

    शनिबार अपरान्ह निस्किएको जुलुसले नगर परिक्रमा गरी २ नम्बर रोडमा पुगेर कोणसभा गरेका थिए। कोणसभा भइरहँदा प्रहरीले पुत्ला खोसेर लगेका थिए। विरोध प्रदर्शन अघि स्थानीय फोहरमैला व्यवस्थापन केन्द्रको गेटमा शनिबार बिहान तालाबन्दी गरेका छन्।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस