• The Public Today
  • सिरहाकी ४ सय ६२ छात्रालाई प्रदेश सरकारको साइकल


    पब्लिक टुडे समाचारदाता
    जनकपुरधाम, भदौ १६ गते ।
    प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारको असहयोगका कारण सोचे जस्तो काम गर्न नसकेको बताएका छन् ।

    [custom-facebook-feed]

    मुख्यमन्त्री ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत साईकल वितरण गर्न सिरहा पुगेका मुख्यमन्त्री राउतले संघीय सरकारको असहयोगका कारण प्रदेशमा लक्ष्य अनुरुप काम गर्न नसकेको बताएका हुन् ।

    साइकल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेश सरकारले विभिन्न काम तथा अभियानको थालनी गरेपनि संघीय सरकारको हस्तक्षेप र असहयोगले गर्दा कामलाई गति दिन नसकेको गुनासो गरे ।

    संघीय सरकारले प्रदेश २ सरकारको काम प्रभावित पार्न एकवर्षमै चार–चार वटा सचिव परिवर्तन गरेको र त्यसकारण चाहेर पनि जनताको अपेक्षा अनुरुप काम हुन नसकेको दुखेसो पोख्दै मुख्यमन्त्री राउतले केन्द्रीय सरकार संघीयता लाई नै धरापमा पार्ने खेल समेत गरि रहेको आरोप लगाए ।

    समृद्ध देश र प्रदेशको परिकल्पना पूरा गर्न तीनै तहको सरकारबीच सहकार्य, समन्वय र तालमेलको आवश्यकता रहेको उल्लेख गर्दै उनले भने ,‘ समृद्धिको सपना पूरा गर्न नारा लगाएर मात्र हुदैन , हृदय देखी अघि बढनु पर्दछ ।’

    मुख्यमन्त्री राउतले बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गत एक आर्थिक वर्षमा ४–५ हजार साईकल वितरण गर्ने लक्ष्य लिएकोमा १४ हजार साइकल वितरण भइरहेको बताए । समाजिक रुपान्तरणको लागि नारी सशक्तिकरण आवश्यक रहेकाले यसलाई उच्च प्राथमिकतामा राखेर प्रदेश सरकार अघि बढेको उनको कथन थियो ।

    प्रदेश २ सरकारको मुख्यमन्त्री ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत सिरहाका विभिन्न पाँच वटा विद्यालयमा एकैदिन चारसय ६२ छात्रालाई साईकल हस्तान्तरण गरिएको छ। लहानस्थित लक्षमण ललिता माविमा १ सय ३, मिर्चैयास्थित मोहन उमाविमा १ सय १३, जनता बनवाली बर्छवामा १ सय १२, , राजमावि छजनामा ५७ र मिर्चैया नगरपालिका वडा ७ स्थित बाजुमावि फूलवरियामा ७७ वटा गरी कक्षा ८ मा अध्ययनरत ४ सय ६२ जना छात्रालाई साईकल वितरण गरिएको हो ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस