मिथिलाञ्चलमा आज चौरचन पर्व मनाईदै

पुनम कुमारी सिंह
जनकपुरधाम, भदौं १६ गते । महोत्तरीसहितका मिथिला क्षेत्रका मैथिल हिन्दू धर्मावलम्बी चौरचन (चौठी चान) पर्व आज मनाइदैछ ।
भदौ शुक्लपक्षको चौथीका दिन यो पर्व मनाइने गरिन्छ । मिथिला क्षेत्रमा खासगरी मधेशी समुदायमा यो पर्वलाई विशेष महत्वका साथ विधिपूर्वक ब्रत बसी मनाउने गरिएको छ ।
हरितालिका तीज र चौंठचन तिथिको समयमा हेरफेर भएपछि आज एकैदिन परेको हो । तीजको व्रत लिइने तृतीया तिथि आज नै शुरु भएर सोमबार बिहान १० बजेभित्रै सकिएर चौथी तिथि लाग्नाले तीजको एक दिनपछि पर्ने चौरचन यसपालि तीजकै दिन परेको हो ।
चौरचन पर्वमा चौथीका दिनको चन्द्रमाको पूजा आराधना गरिने हुनाले पर्व सोमबार नै मनाइने मिथिला पञ्चाङ्गमा उल्लेख रहेको मैथिल परम्पराको कर्मकाण्डका ज्ञाता बर्दिवास नगरपालिका–२ का महेशकुमार झाले बताए ।
भदौ शुक्ल चौथीका दिन मनाइने चौरचन पर्वमा सोही दिन साँझ सूर्यास्तपछि गाईको गोबरले लिपेर बनाइएको आँगन माझको चतुष्कोण यज्ञस्थलमा दीप प्रज्वलित गर्दै घरमूली व्रतालुले फलपूmल र मिष्टान्न परिकार चन्द्रमालाई देखाएर चौरचन व्रत समापन गर्ने मैथिल परम्परा छ ।
खासगरि खिर, पुरी, दही र गच्छेअनुसारका अन्यमिष्टान्न परिकार तथा केरा र मौसमअनुसारका फलपूmल चन्द्रमालाई देखाएर इष्टमित्रसहित परिवारजनलाई चतुष्कोण वेदीस्थलमै बसाएर प्रसाद खुवाएपछि यो पर्व सम्पन्न गरिने मैथिल हिन्दू परम्परा छ । भदौ शुक्लपक्षको चौथी तिथिको चन्द्र दर्शन शास्त्रीय मान्यताले दोषपूर्ण मानिएकाले व्रत बसेर मिष्टान्न परिकार र फलपूmल देखाएर दोष मेटाउने प्रचलन रहेको मैथिली संस्कृतिका जानकार बताउँछन् ।
यो व्रतको प्रभावले मिथ्या दोष नलाग्ने मैथिल जनविश्वास रहेको याज्ञबल्क्य लक्ष्मीनारायण विद्यापिठ मटिहानी, महोत्तरीका मैथिली भाषा साहित्य विषयका उपप्राध्यापक मनोज झा बताउँछन् । मिथिलाका मूल बासिन्दा चौरचन पर्वको तयारीमै रहेका बेला यस क्षेत्रकै पर्वते मूलकाबासिन्दा भने सो दिन चन्द्र दर्शन दोषपूर्ण रहने बताउँछन् ।
पछिल्ला पुस्ताका किशोरहरु कहीँकतै चन्द्र दर्शनको दोष मेटाउन बिग्याँई गर्ने गरेका विगत देखिएको छ । गाउँघरमा राति सानातिना बिग्याँई गर्दा छिमेकीले गाली गरेपछि चन्द्र दर्शनको दोष मेटिने विश्वास छ ।
दोष मेटाउन बिग्याँई गर्नुपर्ने पुरानो विश्वास भने ठिक नरहेको भंगाहा नगरपालिका–४ का २३ वर्षीय सुलनचन्द्र शर्मा बताउँछन् । चौठचन पर्वमा पूजामा सहभागी परिवारका एक सदस्य खासगरी महिला दिनभर उपवासमा बसेर साँझपख गणेश र चन्द्रमालाई पूजा गरेर विधिवत् रूपमा पर्व सम्पन्न गर्छन् । यो पर्व खासगरी मैथिली समुदाय र थारू जातिमा मनाइने गरिएको छ ।
यसैबीच, हरितालिका तीज तथा चौठचन पर्वको अवसरमा जनकपुरधाममा सार्वजनिक बिदा दिइएको छ । जनकपुरधाम उपमहानगरपालिकाले क्षेत्रभित्र सार्वजनिक सूचना जारी गर्दै महिलाको तीज तथा मिथिलाको महत्वपूर्ण पर्वमध्ये चौठचनको अवसरमा सार्वजनिक बिदा दिएको हो ।
क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज
प्रतिक्रिया दिनुहोस