• The Public Today
  • लुटपाट तथा बलात्कार शृंखला चलाउँदै आएको आरोपमा एक पक्राउ


    दिनेश शर्मा
    राजविराज, भदौं १६ गते :
    सप्तरी प्रहरीले बैंक तथा गैरसरकारी संस्थामा रोजगारी दिलाउने प्रलोभन देखाएर लुटपाट तथा बलात्कार शृंखला चलाउँदै आएको आरोपमा एक युवकलाई पक्राउ गरेको छ।

    [custom-facebook-feed]

    सप्तरीको अग्निसाईर कृष्णासवरण गाउँपालिका-२ सीतापुरका २९ वर्षीय सन्तोषकुमार  यादवलाई शुक्रबार मोरङको विराटनगर-३, बूढीगंगास्थित डेराबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

    प्रदेश १ प्रहरी कार्यालयको समन्वयमा पक्राउ परेका यादवलाई सोमबार इलाका प्रहरी कार्यालय कञ्चनपुर (सप्तरी)ले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।

    यादवले सामाजिक सञ्जाल ‘इमो’मार्फत् मुलुकका विभिन्न स्थानका महिला तथा युवतीहरूसँग सम्पर्क स्थापित गर्ने, रोजगारी दिने बहानामा सप्तरी, सुनसरी र मोरङका विभिन्न स्थानमा बोलाउने र लुटपाट तथा किशोरीहरूलाई बलात्कार गर्ने गरेका थिए।

    सप्तरी प्रहरीमा उनीविरुद्ध आधा दर्जन उजुरी परेको र त्यसबाहेक १ दर्जनभन्दा बढी घटनामा उनको संलग्नता देखिएको ईलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी मकेन्द्रकुमार मिश्रले बताए। मिश्रका अनुसार प्रहरीमा दर्ता भएका उजुरीबाहेक अन्य १६ वटा घट्नामा आफनो संलग्नता रहेको यादवले स्वीकार गरेका छन्।

    महिलाहरूलाई विश्वासमा लिन यादवले ‘रोजगारी जब लिंक नेपाल’ नामको नक्कली संस्था श्रृजना गरी आफूलाई त्यसको म्यानेजर भएको बताउने गरेका थिए। प्रहरीबाट बच्न उनले आफ्नो नामसमेत परिवर्तन गरी सञ्जीव खड्का बताउने गरेका थिए।

    यसरी पक्राउ परे यादव
    सप्तरीको अग्निसाईर कृष्णासवरण गाउँपालिकास्थित सितापुर आसपासका क्षेत्रमा करिब २/३ महिनाअघि देखि लुटपाटका घटना भइरहेको हल्ला थियो। कञ्चनपुर र नेपालगञ्जबाट आएका २ महिलाले आफूहरू लुटिएको भन्दै गिड्गिडाएपछि स्थानीयबासीले त्यसको जानकारी प्रहरीसम्म पुर्‍याएका थिए।

    बाहिरबाट आएका मान्छे लुटिएको विषयमा गाउँलेले धेरै चासो राखेनन्। तर, प्रहरीले भने उक्त गुनासोलाई गम्भीरतापूर्वक लियो। पीडितसँग सम्पर्क स्थापित गर्ने र पीडकको खोजी गर्ने क्रममा प्रहरीलाई महत्वपूर्ण सुराक हात लाग्यो। सोही सुराकलाई पछ्याउँदै प्रदेश प्रहरीको सहयोगमा यादवलाई पक्राउ गर्न सकिएको डिएसपी मिश्रले जानकारी दिए।

    ‘हामी घटनाको पछि लागिरहेकै थियौं। यसैबीचमा अर्को एउटा घट्ना थपियो,’ मिश्रले भने, ‘सोही घटनालाई पछ्याएर यादवलाई पक्राउ गर्न सक्यौं।’ यादवले इमोमार्फत् भदौ ७ गते सोलुखुम्बुकी विष्णु नपालीसँग सम्पर्क बढाएका थिए। एक बैंकमा रोजगारी खुलेको र आफ्नो संस्थामार्फत् जागिर पक्का गराइदिने भन्दै भदौ ११ गतेभित्र मोरङको कञ्चनवारी आईपुग्न सल्लाह दिए। 

    विष्णुले सोही कुरा आफ्नो साथी सुनसरीको बराहक्षेत्र नगरपालिका-८ की आशा राईलाई सुनाइन्। दुवै जना कन्चनबारी पुगे। यादवले अरूको काममा समय लाग्ने भन्दै आशा राईका लागि भने राजविराज शाखामा पक्का भएको सुनाए। रोजगारी जब लिंकको लेटरप्याडमा ‘आशा राई कर्मचारीमा नियुक्ति भएको र सोही अनुसारको तलबभत्ता दिनू’ भन्ने मनसायको बैंकलाई लेखेको पत्रसहित उनले आशालाई सप्तरी ल्याए।

    राती करिब ९ बजे सप्तरी आएका यादवले आशालाई राजविराज नलगी सीतापुर आसपासमै लगेर लुटपाट गरे। भनेअनुसार नगरे अरु केटाहरू बोलाएर मारिदिनेसम्मको धम्की दिएपछि आशाले आफूसँग भएको गहना र नगद उनलाई नै बुझाइन्। ज्यान जोगिएपछि उनी स्थानीयकै सहयोगमा प्रहरी कार्यालयमा पुगिन्। प्रहरीले उनको बयान र फोन नम्बरका आधारमा यादवको खोजतालस सुरु गर्यो।

    ‘हामीले सीतापुरमै पक्राउ गर्ने योजना बनाएका थियौं। तर, त्यो योजना पूरा भएन,’ डिएसपी मिश्रले भने, ‘घरको करिव ३/४ सय मिटर अगाडि नै मोबाइल स्विच अफ गर्ने गरेकाले ट्रेस गर्न सकेनौं।’ तर, अन्य सुराक पत्ता लगाउँदै जाँदा उनलाई विराटनगरबाट पक्राउ गरिएको उनको भनाई छ।

    यादवले यसअघि बैशाख ९ गते सिन्धुपाल्चोकको लिसंखु गाउँपालिका-१ की ३३ वर्षीया स्वस्थानी नेपाली, असार २६ गते कञ्चनपुरको पुनर्वास नगरपालिका-१ की १९ वर्षीया मिना बोहरा, साउन ८ गते बाँकेको नेपालगञ्ज उपमहनगरपालिका-५ की विपना कार्की (नाम परिवर्तन)लगायतका साथबाट ५ लाखभन्दा बढीको धनमाल लुटपाट गरेको प्रहरीमा रेकर्ड रहेको मिश्रले जानकारी दिए।

    उनले विपनालाई लुटपाटपछि बलात्कारसमेत गरेको प्रहरीको दाबी छ।

    बलात्कार उद्योगका फरार अभियुक्त
    यादव बलात्कार उद्योगमा यसअघि पनि पक्राउ परेका थिए। उनी फरार अभियक्त हुन्। ०७५ फागुनमा एक महिलालाई लुटपाट गरी बलात्कार गर्न खोजेको आरोपमा उनी विरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा चलेको थियो।

    धरौटीमा रिहा भएका यादवलाई अन्तिम फैसला हुँदा १ वर्ष ६ दिनको कैद सजाय भए पनि उनले कैद भुक्तान नगरी फरार भएको ईलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। यादवले करिब ३ वर्षदेखि यस्तो धन्दा गर्दै आएको प्रहरीको दाबी छ।


    क्याटेगोरी : अपराध, ब्रेकिङ्ग न्युज-१, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस