विजय कुमार सिंह
ढल्केवर, चैत्र ३ गते । रेश्मा रसाईलीको परिवारको घर निर्माण अभियानमा दारी ग्याङ्गले राहत थपेको छ । बलात्कार पश्चात हत्या गरेर जलाइएकी धनुषाको मिथिला नगरपालिका वडा नम्वर–३ हरिहरपुर मगरटोलकी रेश्मा रसाईलीको परिवारको घर बनाउने अभियानमा दारी ग्याङ्गले सहयोग गरेका छन् ।
धनुषाको ढल्केवरस्थित दारी ग्याङ्गले रेश्मा घर निर्माण अभियान अन्र्तगत शनिवार पीडित परिवारलाई नगद र घर निर्माण सामग्री सहयोग गरेका हुन् । ग्याङ्गले घर निर्माणका लागि पीडित परिवारलाई १० हजार नगद र १९ बोरा सिमेन्ट हस्तान्तरण गरेका छन् ।
घर निर्माण अभियान अन्र्तगत ढल्केवर घर भई अमेरिकामा बस्दै आएका यत्न कडारी, ढल्केवरका स्थानिय विमल भट्टराई, जनक भट्टराई, जितेन्द्र चौधरी, जय अम्बे ट्रेडर्स एण्ड सप्लायर्स, आश्विन ट्रेडर्स, निरु कार्की, जितेन्द्र चौधरी, अमर दास, सरोज महतो, दिनेश कुमार साह, चन्दन साह लगायतका व्यक्ति तथा विभिन्न संघसंस्थाबाट संकलन गरेको उक्त सहयोग रकम र निर्माण सामग्री पीडित परिवारलाई हस्तान्तरण गरेका हुन् ।
“भजन गाउने ओठभन्दा सेवा गरिने हात पवित्र हुन्छ” भन्ने नाराकासाथ दारी ग्याङ्ग रेश्मा घर निर्माण अभियानमा जुटेका छन् । घर निर्माण कार्यमा ग्याङ्गका सदस्यहरुले श्रमदान गर्ने समेत निर्णय गरेको दारी ग्याङ्गका अगुवा देवराज घिमिरे जनाए । यस अभियानमा हामीसंग हातेमालो गरेर घर निर्माण अभियानलाई सफल बनाउन देशविदेशमा भएका साथीहरुलाई पनि ग्याङ्गका अगुवा घिमिरेले आग्रह गरे । स्थानिय युवाहरुको समुह दारी ग्याङ्गले सामाजिक कार्यहरुमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् ।
गत फाल्गुण १ गते गाउँमै विवाहमा नाच्दै गरेकी बालिका रेश्मालाई बलात्कार गरि हत्या गरेर जलाइएको अवस्थामा भोलीपल्ट गाउँदेखि करिब २ सय मिटर पर रहेको उखु बारी उनको शव फेला परेको थियो । रेश्माको हत्या हुनुभन्दा करिब एक महिना अघि उनको घर जलेको थियो । घर जलेर राख बनेपछि देवनारायण ९० बर्षिय दृष्टिविहिन आमा सुर्यमायालाई लिएर भाइको घरमा बस्दै आएका छन् ।
रेश्माका बुवा देवनारायण र उनकी ९० बर्षिया हजुर आमा सूर्यमाया रसाइलीको लागि घर निर्माण गर्न एक समिति गठन गरिएको छ । स्थानीय युवा सञ्जय कुमार कोइरालको अध्यक्षतामा सात सदस्यीय रेश्मा घर निर्माण समिति गठन गरिएको छ ।