• The Public Today
  • बारा–पर्साका हावाहुरी प्रभावितलाई घर हस्तान्तरण


    पब्लिक टुडे समाचारदाता
    बारा, भदौं १८ गते ।
    बारा र पर्सामा हावाहुरी प्रभावितका लागि नेपाली सेनाद्वारा निर्माण गरिएको घर बुधबार हस्तान्तरण गरिएको छ ।

    [custom-facebook-feed]

    प्रधानसेनापति पूर्णचन्द्र थापा, कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सम्बन्धित स्थानीय सरकार प्रमुखलाई हस्तान्तरण गरेका हुन् ।

    जनता आवास पुनःनिर्माण कार्यक्रम अन्तर्गत नेपाली सेनाले निर्माण गरेका घरहरु हस्तान्तरण गरिएको हो । गत वर्ष चैत १७ गते साँझ आएको उक्त चक्रवातबाट २७ जनाको मृत्यु हुनका साथै अर्बौ मूल्य बराबरको धनमाल क्षति भएको थियो । 

    सरकारले चैत २१ गते क्षतिग्रस्त घरको पुनःनिर्माण गर्ने जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो । नेपाली सेनाको २८ नं बाहिनी अड्डा नेतृत्वको कार्यदलले १२ वटा क्लष्टरमा विभाजन गरी तीन चरणमा निर्माणकार्य पूरा गरेको हो । 

    वीरगञ्जमा आयोजित कार्यक्रममा हस्तान्तरणका लागि नमुना घर प्रयोग गरिएको थियो । बारा र पर्साका विभिन्न स्थानीय तहमा निर्माण गरिएको जनता आवास पुनःनिर्माण कार्यक्रमअन्तर्गत नेपाली सेनाले ८६९ घर निर्माण गरेको हो ।

    मूल्य अभिवृद्धिकरसहित प्रतिघर रु चार लाख ९४ हजार अठासी रुपैयाँ लागत रहेको उक्त आवास निर्माणका लागि सरकारले  रु ८४ करोड ६८ लाख ७६ हजार रकम उपलब्ध गराएको थियो । उक्त आवास निर्माण कार्यमा दुई हजार ६६५ सैनिक र तीन हजार ६७७ गैरसैनिक परिचालन गरिएको थियो ।

    उक्त क्षेत्रको पुनःनिर्माण, पुनःस्थापना, सहजीकरण  र समन्वय गर्न गठित समितिले साउनको अन्तिम साता जिम्मेवारी पूरा गर्ने लक्ष्य लिएकोमा तराई–मधेशमा आएको बाढी र डुबानका कारण केही दिन निर्माणकार्य स्थगित गर्नुपरेको थियो ।

    कार्यक्रममा प्रधान सेनापति  पूर्णचन्द्र थापा, प्रदेश नं २ का भौतिक पूर्वाधारमन्त्री जीतेन्द्र सोनल, बारा र पर्साका प्रमुख जिल्ला अधिकारी, स्थानीय जनजनप्रतिधि लगायतको उपस्थित थियो ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस