• The Public Today
  • जलेश्वर कारगारका १ सय ४० कैदीबन्दीमा भाइरल ज्वरो


    जलेश्वर, भदौ १९ गते । महोत्तरी, धनुषा र केही वर्षदेखि सर्लाही जिल्लाको संयुक्त कारागारको रुपमा रहेको जलेश्वर कारागारमा बस्दै आएका कैदीबन्दीमध्ये एकचौथाइ कैदीबन्दीमा भाइरल ज्वरोको प्रकोप देखिएको छ ।

    [custom-facebook-feed]

    अत्यधिक गर्मीका बीच क्षमताभन्दा करीब चार गुणा बढी कैदीबन्दीको चाप बढेकाले जलेश्वर कारागारका एकचौथाइ कैदीबन्दीमा भाइरल ज्वरोको सङ्क्रमण देखिएको जेलर कन्हैयाकुमार मिश्रले बताए ।

    उनका अनुसार १३५ कैदीबन्दी राख्ने क्षमता भएको यस कारागारमा अहिले विभिन्न न्यायिक र अर्धन्यायिक निकायको आदेशमा कैदीबन्दीको सङ्ख्या ५ सय पुगेको छ । ४ सय ५१ पुरुष, ४५ महिला र ४ आश्रित बालबालिकासहित अहिले जलेश्वर कारागारमा जम्मा ५ सय कैदीबन्दी छन् ।

    अत्यधिक चापकै कारण मान्छे–मान्छेबीच उत्पन्न हुने गर्मी र माथिबाट चर्को घामका कारण जलेश्वर कारागारमा अहिले करीब १ सय ४० कैदीबन्दीमा भाइरल फिवरको प्रकोप देखिएको मूलकैदी (चौकीदार) श्यामसुन्दर यादवले बताए ।

    अहिले जलेश्वर कारागारबाट दैनिक एक दर्जन बढी कैदीबन्दी उपचारका लागि जिल्ला अस्पताल जलेश्वरमा पठाइने गरिएको जलेश्वर कारागारका सूचना अधिकारी मकसुदन महासेठले बताए । उनले अत्यधिक गर्मीकै कारण कैदीबन्दी अहिले उकुसमुकुस भएर बाँचिरहेको र एउटा न एउटा कैदीबन्दी बिरामी भइरहने अवस्था रहेको बताए ।

    दैनिक दर्जनौँको सङ्ख्यामा बिरामी हुने कैदीबन्दीमध्ये धेरैलाई कारागारमै दरबन्दी भएका सिनियर अहेवले भित्रै गएर र बाहिर निकालेर पनि उपचार गरेका छन् भने सिकिस्त बिरामीलाई उपचारका लागि जिल्ला अस्पताल पठाउने गरिएको उनले बताए ।

    यता जिल्ला अस्पताल जलेश्वरका डा. मृत्युञ्जयकुमार ठाकुरले पनि जलेश्वर अस्पतालमा उपचार गराउन आउने बिरामीमध्ये एकचौथाइ बिरामी कारागारबाटै आउने गरेको बताए । चर्को घाम र अत्यधिक गर्मीले अहिले जलेश्वर कारागारबाट प्रायः सबै कैदीबन्दी कुनै न कुनै रुपले प्रभावित भइरहेका छन् भने एकचौथाइ कैदीबन्दी भाइरल ज्वरोको सिकार भएर उपचारमा रहेका छन् । रासस



    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस