• The Public Today
  • समाजिक रुपान्तरणको नेतृत्व लिन मारवाडी महिलालाई मुख्यमन्त्री राउतको आग्रह


    पब्लिक टुडे समाचारदाता
    जनकपुरधाम, भदौं २० गते ।
     प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले समाजिक रुपान्तरणको नेतृत्व लिन मारवाडी महिलाहरुलाई आग्रह गरेका छन् ।

    [custom-facebook-feed]

    नेपाल राष्ट्रिय मारवाडी महिला संगठनको पाँचौ राष्ट्रिय महाधिवेशनको जनकपुरधाममा उदघाटन गर्दै मुख्यमन्त्री राउतले मुलुकको आर्थिक क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएको मारवाडी समुदायको महिलाहरुलाई अव समाजिक रुपान्तरणको नेतृत्व लिनु पर्ने बताए ।

    उनले मारवाडी महिला संगठन आर्थिक हिसावले समृद्ध रहेको हुँदा समाजिक रुपमा पछि परेका अन्य समुदायका महिला, दलित, मुस्लिम सहितको उन्नतिको लागि भूमिका खेल्नु पर्ने आवश्यकता औल्याए ।

    समाजिक रुपान्तरण विना प्रदेश तथा देशको समृद्धि सम्भव नरहेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले भने, ‘प्रदेश सरकारले समाजिक रुपान्तरणको लागि बेटी पढाउ, बेटी बचाउ, स्वच्छता अभियान, जस्ता कार्यक्रमहरु लाई अघि बढाएको छ । प्रदेश सरकारको यस अभियानमा तपाईहरु पनि सहकार्य गर्नुस ।’

    महिला संगठनका अध्यक्ष रचना राठीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश सभा सदस्य राम अशिष यादव, परमेश्वर साह, जनकपुरधाम उपमहानगरका प्रमुख लालकिशोर साह, राष्ट्रिय मारवाडी परिषदका अध्यक्ष पवन मित्तल सहितका वक्ताहरुले बोलेका थिए । नयाँ नेतृत्वको चयन गर्दै उक्त सम्मेलन भोली सम्पन्न हुने छ ।


    क्याटेगोरी : राजनीति, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस