• The Public Today
  • एसिड प्रहारबाट घाइते मुस्कानको उपचारका लागि प्रदेश सरकारले ५ लाख दिने


    पब्लिक टुडे समाचारदाता
    जनकपुरधाम, भदौं २१ गते ।
    एसिड प्रहारबाट घाइते भएकी छात्राको उपचारका लागि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ५ लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।

    [custom-facebook-feed]

    शुक्रबार बिहान वीरगन्ज–३ छपकैयाकी १५ वर्षीया छात्रा मुस्कान खातुनमाथि एसिड प्रहार भएको थियो । खातनुको उपचारमा कमिकमजोरी हुन नदिन मुख्यमन्त्री राउतले ५ लाख रुपैयाँ दिने घोषणा गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ ।

    खातुनलाई नारायणी उपक्षेत्रीय अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौँ रेफर गरिएको छ । विद्यालय जाने क्रममा वीरगञ्ज महानगरपालिका– ३ छपकैया निवासी मुस्कान खातुनमाथि गणेशमान सिंह चोकमा १६ वर्षीय सम्साद मियाँ हजामले एसिड प्रहार गरेको प्रहरीले जनाएको छ ।

    यस्तै, मुख्यमन्त्री राउतले छात्रामाथि एसिड प्रहारे घटना तत्काल छानबिन गरी दोषीलाई कडा कारबाही गर्ने प्रतिब्द्धता जनाएका छन् । मुख्यमन्त्री राउतले प्रदेश २ मा छोरीलाई शिक्षित बनाउने ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान चलाएका छन् ।

    तेजाब प्रहारबाट खातुनको अनुहार, छाती, हातखुट्टालगायतका शरीरको भाग जलेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । खातुनको स्वास्थ्य अवस्था गम्भीर रहेको पनि चिकित्सकले बताएका छन् ।

    मुस्कानमाथि तेजाब खन्याएको अभियोगमा वीरगञ्ज महानगरपालिका–२ छपकैया निवासी १६ वर्षीय सम्साद मियाँलाई प्रहरीले पक्राउ गरेको छ । बिहान ६ बजे विद्यालय जानलागेकी युवतीमाथि सम्सादले तेजाब खन्याएको प्रत्यक्षदर्शी र पीडितले दिएको बयानका आधारमा पक्राउ उनलाई गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिएका छन् ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस