शुभ नारायण यादव-
सप्तरी, चैत्र ४ गते । रंग र अविरको पर्वको रुपमा चिनीने होलीको रौनक सप्तरी सहित मिथिलाञ्चलमा शुरु भएको छ । होली है बुरा मत मानौ………,जोगिरा सर र…र….. जस्ता सु मधुर होलीका गितहरु अहिले मिथिलाञ्चलका विभिन्न ग्रामिण भेगहरुमा जहाँ त्यही गुन्जिरहेको छ ।
मिथिलान्चलमा श्रीपञ्चमी अर्थात सरस्वती पुजाबाट नै होलीको रौनक र जोगीरा खेल्ने क्रम सुरु हुने गरेकोमा यस वर्र्ष एक हप्ता अगाडीबाट मात्र रौनक सुरु भएको स्थानीयहरुले बताएका छन् । विगतमा जस्तो बढी चर्चामा नरहेपनि गाउँगाउँमा होलीको गीत र जोगीरा गाउने क्रम बढेको छ ।
यहाँका स्थानीयहरुले विधिपूर्वक चिर ठड्याई यस वर्षको फागु (होली) पर्वको गीत र जोगीरासगैं सुरु भएको स्थानीय जानकारहरु बताउँछन । विगतको भन्दा अहिले मिथिलान्चलमा जोगिरा गाउँनेहरुको संख्यामा निकै कमि आएको देखिन्छ । होली पर्वको आगमनसँगै मिथिलाञ्चलको गाउँ गाउँमा गाइने जोगिरा (एक प्रकारको परम्परागत गीत) लोप हुँदै गएको छ ।
सप्तरी सहित मिथिलाञ्चलको प्रत्येक गाउँको टोलटोलमा विगतका वर्षमा सुनिने जोगिरा अब सुनिन छोडिएको स्थानीयबासीहरुको भनाइ छ । पहिले पहिले गाउँका दलानमा डम्फु, झ्याली, हार्मोनियमको तालमा अबेर रातिसम्म विभिन्न उमेर समूहका युवा, वयस्क र वृद्धाको छुट्टाछुट्टै टोलीले समूह बनाई जोगिरा गाउने चलन थियो । डम्फुको तालमा गवैया मनोयोगका साथ जोगिराको माध्यमबाट देवीदेवताको वन्दना गर्ने, हाँसो–ठट्टा, पे्रम–विछोड र हर्ष–विनोदका भाव गीतको माध्यमबाट प्रस्तुत गर्ने जोगिरा अहिले लोप हुँदै गएको छ ।
मिथिलाञ्चलमा होली पर्वको अवसरमा गाइने जोगिरा संस्कृतिको जगेर्ना गर्ने र निरन्तरता दिने युवा समुदायको खाँचो देखिएको स्थानीय बुढापाखाहरु बताउँछन । पहिला पहिला जोगिरा गाउन होलीको एक महिनापूर्व नै देश–परदेशमा रोजगारीमा गएका युवा, वयस्क आ–आफ्ना घर फर्केर आउँथे र होलीको अवसरमा एक महिनासम्म गाउँ गाउँमा अबेर रातिसम्म जोगिराले गाउँगाउँ गुञ्जायमान बनेको हुन्थ्यो तर अहिले ती सबै हराएर गएको जानकारहरुको भनाई छ । जोगिराको अन्त्यसँगै सामाजिक सद्भाव पनि घट्दै गएको छ, अनि मिथिलाको मौलिक परम्पराका रूपमा रहेको फागु गीत पनि लोप हुन थालेको सप्तरीको साबिक बरही बिरपुर ७ हाल छिन्नमस्ता गाउँपालिका वडा न. १ का बयोबृद्ध दुबी लाल यादवको कथन छ ।
जोगिरा गाउने परम्परा संरक्षणको आवश्यकता रहेको बताउनुहुँदै उहाँले अहिलेका युवामा आपसी सद्भाव, भाइचारा, बन्धुत्व र सामाजिक एकताको अभावमा यसको लोप हँुदै गएको निष्कर्ष निकालेका छन् । होली र जोगिराको नाउँमा मिथिलान्चलमा खासगरी अशब्द प्रयोग गरीएका भोजपुरी गितहरु अहिले विभिन्न ग्रामिण भेगहरुका गुन्जिरहेको सुुन्न पाईन्छ । अहिले सप्तरी सहित मिथिलान्चलका विभिन्न ग्रामिण भेगहरुमा भजन, किर्तन र धामिर्क कार्यक्रमहरु होली पर्वको गीत र जोगीरा गाउने तथा खेल्ने गरेको स्थानीयहरु बताउँछन ।
हिन्दू धर्मशास्त्र अनुसार हिरण्यकश्यपका पुत्र प्रह्लादलाई हत्या गर्ने उद्देश्यले होलिका आगोमा जाँदा होलिकाको दहन भएको र प्रह्लाद बाँचेको पौराणिक कथालाई लिएर होली मनाइने प्रचलन रहेको छ । होली पर्वमा यहाँका युवाहरुले जाँड रक्सी जस्ता नशालु पदार्थ सेवन गर्ने तथा जर्वजस्ती रंग अविर लगाउँने प्रवुति समेत विगतका वर्षहरुमा देखिएकाले यस वर्षहरुमा यि यस्ता कार्यहरु नगर्न स्थानीय प्रहरी प्रशासनले सबै पक्षसँग अनुरोध समेत गरेको छ ।