रोहित महतो-
जनकपुरधाम, चैत्र ४ गते । जनकपुर अंचल अस्पतालका लेखा अधिकृत राम विनय रायले विकास समितीका कर्मचारीलाई कमिसन लिएर मात्र तलब भत्ता दिने गरेको खुलासा भएको छ ।
रायलाई कमिसन नदिएको खण्डमा विकास समिती विघठन भइसकेकाले कुनै पनि बेला कामबाट निकाल्न सक्ने भन्दै कर्मचारीहरुलाई डर, त्रास देखाउँदै धम्की दिने गरेको खुलेको हो । रायले अस्पतालको कुनै पनि कार्यमा पैसा नदिइ काम गर्न नमानेको अस्पतालका चिकित्सकहरुको भनाइ छ ।
‘समयमा औषधि तथा सर्जिकलको बोलपत्र आह्वान नै नगरी कमिसनको चलखेलमा अस्पतालको फार्मे्सिमा भ्रष्टाचार गरेको छ,’ नाम नखोल्ने शर्तमा एक चिकित्सकले भन्नुभयाे, ‘अस्पतालमा विरामीलाई खाना खुवाउने मान्छेसँग समेत उनले पैसा माग्ने गर्छन् ।’
अस्पतालको इन्धन खरिदमा नक्कली बिल भरपाइ गरी लेखा अधिकृति रायले पैसा लिएको ती कर्मचारीले बताउनुभयाे । भर्खरै अस्पताल हाताभित्र निर्मित ओपीडिको नया भवनमा समेत ठेकेदारसँग पैसा लिइ बर बुझागर गरेको उहाँको भनाई छ ।
अधिकृत रायले प्रदेश २ मा समायोजन भएर आएकाले आफुलाई कसैले छुन नसक्ने भन्दै कर्मचारीहरुलाई अनाहकमा दुःख दिएको भन्दै अस्पतालका कर्मचारीहरुले रायलाई कारबाही गर्न मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई निवेदन पठाएको छ ।
यता जनकपुर अंचल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. नागेन्द्र यादवले तलब भत्तामा कमिसन लिने गरेको र अस्पतालका कर्मचारीहरुलाई डर त्रास देखाउने गरेको विषयमा मौखिक जानकारी आएपनि लिखित नआएको बताउनुभयाे । ‘हामीलाई कुनै लिखित जानकारी आएको छैन, मौखिक रुपमा आउँदा अधिकृत रायलाई सम्झाएको थिएँ तर उनले त्यस्तो कुनै कुरा नरहेको प्रतिक्रिया दिएका थिए,’ उनले भने ।
जनकपुर अंचल अस्पतालमा पटक पटक टेन्डर आह्वान नै औषधी खरिद भैरहेको लगायतका आरोपहरु लाग्दै आएको छ । केही दिनदिन अघि मात्र अस्पतालमा चिकित्सकहरुले विरामीका कुरुवालाई कुटपिट गरेको समेत घटना सार्वजनिक भएको थियो ।