शौच गर्न गएकी किशोरीको महोत्तरीमा सामूहिक बलात्कार

महोत्तरी, भदौं २७ गते । जिल्लाको सम्सी गाउँपालिकामा एक १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार सम्सी गाउँपालिका–२ पर्सादेवारका एक किशोरीमाथि सामूहिक बलात्कार भएको हो ।

[custom-facebook-feed]

एक साताअघि घटेको सो घटनामा मुद्दा दर्ता गरिएपछि आज (शुक्रबार) प्रहरीले सो घटनाबारे जानकारी गराएको हो । एक साताअघि रातिको करिब ७ बजेको समयमा गाउँभन्दा दक्षिण खुलामा शौच गर्नका लागि गएकी सो किशोरीलाई चार युवाले सामूहिक बलात्कार गरेको प्रहरी उपरीक्षक अधिकारीले बताए ।

किशोरीलाई एक्लै देखेर चार युवाहरु उनलाई पक्रेर मुख थुन्दै धान खेतमा लगेर सामूहिक बलात्कार गरेको पीडितले प्रहरीलाई बताएकी छन् । पालैपालो चारै जनाले बलात्कार गरेपछि किशोरी अर्धबेहोस भई अत्यधिक रक्तश्राव भइरहेको अवस्थामा बस्तीमा पुग्दा स्थानीय तथा आफन्तले उनलाई सोधेपछि घटनाबारे सविस्तार बताएकी थिइन् । किशोरीले आफूलाई बलात्कार गर्नेमा दुई आफन्त नै रहेको र आफूले चिनेको तथा दुई बाहिरी युवाहरु रहेको बताएकी छन् ।

यता प्रहरीले अनुसन्धान गर्दा किशोरीलाई बलात्कार गर्ने चारै जना युवाहरु घटना घटाएर भारतको मुम्बई भागेको जनाएको छ । तर प्रहरीले पीडित किशोरीको उपचार गराई उनको बयानको आधारमा चारै जनामाथि जबरजस्ती करणी मुद्दा चलाइसकेको र उनीहरुको व्यापकरूपमा खोजतलास भइरहेको तथा उनीहरुलाई चाँडै पक्राउ पर्ने प्रहरी उपरीक्षक अधिकारीले बताए ।रासस