रोहित महतो-
जनकपुरधाम, चैत्र ४ गते । डा .सीके राउतले नेतृत्व गरिरहेको स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय परिषद बैठक आज(साेमवार) दोस्रो दिन पनि जारी छ ।
सिरहाको लहानस्थित मारवाडी सेवा सदनमा भैरहेको बैठकमा नयाँ पार्टी गठन गर्ने र आगामी कार्यदिशाबारे रणनीति बनाउने विषयमा छलफल भैरहेको राउतका समर्थक मनोज मोरबैताले जानकारी दिए ।
उनका अनुसार आइतवारको बैठकमा गठबन्धनका केन्द्रीय प्रवक्ता अब्दुल खानले स्कटल्याण्डमा भएको जनमत संग्रहको उदाहरण दिँदै पार्टी गठन गरेर जनमत संग्रहमा जानुपर्ने बताएका थिए। बैठकमा २२ जिल्लाका करिब २ सय परिषद सदस्य सहभागी छन् ।
बैठकमा सहभागी हुन सबैलाई नागरिकता लिएरै आउनुपर्ने अनिवार्य गरिएको छ। प्रवेश गर्ने बेला सहभागीहरुको शरीर खान तलासी गर्नुका साथै मोबाइल र डटपेन समेत राउतको सुरक्षा दस्ताले नियन्त्रणमा लिएको बताइएको छ ।
नामावलीमा नाम नहुने समर्थक तथा नेताहरुलाई प्रवेश निषेध गरिएको छ। सदस्य पहिचानका लागि नागरिकता अनिवार्य गरेको भनिए पनि निर्वाचन आयोगमा पार्टी दर्ता गराउँदा सदस्यको नागरिकता नम्बर चाहिने भएकाले नागरिकता अनिवार्य गरेको बुझिएको छ ।
सहभागीहरुलाई मारवाडी सेवा सदनभन्दा बाहिर आउन दिइएको छैन भने उनीहरुको मोबाइल फोन समेत बन्द गर्न लगाइएको छ। हिजो संयोजक डा.सीके राउतसँग संयुक्त राष्ट्र संघका प्रतिनिधिले पनि गोप्य भेटघाट गरेको बुझिएको छ। बैठक चलिरहँदा यूएनको गाडीमा सवार व्यक्तिले राउतसंग गोप्य भेटघाट गरेका हुन् ।
अति गोप्य भनिएको उक्त बैठकमा युएनको गाडीमा प्रतिनिधिले राउतसँग गोप्य भेटघाट गरेपछि विभिन्न आशंका उत्पन्न भएको छ। बैठकमा प्रहरी र पत्रकारलाई प्रवेश निषेध गरिएको छ। बैठकमा सरकारसँग सहमति हुनुपुर्व गठबन्धनले प्रयोग गर्दै आइरहेको स्वतन्त्र मधेसको झण्डा र ब्यानर प्रयोग गरिएको छैन ।