• The Public Today
  • ‘ग्रिनिङ्ग द जलेश्वर’ कार्यक्रम अन्तर्गत वृक्षारोपन


    पब्लिक टुडे समाचारदाता
    महोत्तरी, असोज १ गते ।
    महोत्तरीको जलेश्वरमा वृक्षारोपन कार्यक्रमको शुभारम्भ भएको छ ।

    [custom-facebook-feed]

    ‘ग्रिनिङ्ग द जलेश्वर’ कार्यक्रम अन्तर्गत जलेश्वर नगरपालिकामा वृक्षारोपन कार्यक्रम शुभारम्भ भएको हो । मंगलवार प्रदेश नम्वर २ का मुख्यमन्त्री लालबाबु राउतले वृक्षारोपन कार्यक्रमको उद्घाटन गरेका हुन् ।

    वृक्षारोपन कार्यक्रमको समुउद्घाटन गर्दै मुख्यमन्त्री राउतले प्रदेश २ लाई हरित प्रदेशका रूपमा विकास गर्ने योजना अनुरूप प्रदेश सरकार अघि बढेको बताए । उनले यस वृक्षारोपन अभियानले प्रदेश सरकारले सुरूवात गरेको ‘हरित प्रदेश’ अभियानमा सहयोग पुग्ने उल्लेख गरे । मुख्यमन्त्री राउतले यस अभियानमा चाहेको बेला प्रदेश सरकारले आर्थिक सहयोग गर्ने प्रतिवद्धता समेत जनाए ।

    जलेश्वर नगरपालिका वडा नम्बर ९ आगेपुरदेखि भिट्ठामोडसम्म सडक डिभिजनवाट निमार्ण गरिएको करिब 36 वटा डिभाईडरहरूमा वृक्षारोपन गरिएको छ ।

    युएनडिपी, जलेश्वर नगरपालिका र प्रदेशसभा संसदिय विकास कोषको संयुक्त आर्थिक सहयोग र समन्वय तथा महोत्तरीको बर्दिवासस्थित रहेको सामुदायिक विकास पैरवी मंच नेपालको प्राविधिक सहयोगमा सञ्चालित ‘ग्रिनिङ्ग द जलेश्वर’ कार्यक्रम अन्तर्गत भविष्यमा वढी महत्व बोकेको फुल फुल्ने र फुल नफुल्ने गुलमोहर, कपुर, राजबृक्ष, क्षतिवन, पारिजातलगायतका ११ प्रजातीका विरुवाहरूको वृक्षारोपण गरिएको हो ।

    जलेश्वर नगरपालिकाका नगरप्रमुख राम शंकर मिश्रको अध्यक्षतामा भएको वृक्षारोपन समुद्घाटन कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुरेश प्रसाद सिंह, प्रदेश सांसद, राजनीतिक दलका प्रतिनीधिहरू, महोत्तरीका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरूलगायत सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

    यस्तै सोही अभियान अन्तर्गत सो क्षेत्रमा उज्यालो वढाउनको लागि सडकको डिभाईडर भित्र स्ट्रिट सोलार लाईट जडान गर्नुकासाथै फोहरमैला व्यवस्थापनका लागि २ सय २५ वटा वेस्टेज वक्स(डष्टवीण) राख्ने कार्यक्रम रहेको सामुदायिक विकास पैरवी मंच नेपालका अध्यक्ष नागदेव यादवले जानकारी दिए ।

    सो कार्यक्रम अन्तर्गत जलेश्वर नगरपालिकाको वडा नं. १, २, ३, ६, ८ र ९ अन्तर्गतका सडकहरुमा निर्माण गरिएको डिभाईडर भित्र र सडकको अन्य छेउहरुमा समेत गरी १५ किलोमिटर क्षेत्रमा वृक्षारोपन गर्ने योजना रहेको पनि अध्यक्ष यादवले जनाए ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस