• The Public Today
  • मेयर–उपमेयरमाथि हत्या मुद्दा, कर्मचारीलाई तलबको चिन्ता


    पब्लिक टुडे समाचारदाता
    धनुषा, असोज ३ गते :
    धनुषा जिल्लाको हँसपुर नगरपालिकाका मेयर र उपमेयरमाथि हत्या मुद्दा दर्ता भए पछि कर्मचारीलाई तलबको चिन्ता बढेको छ ।

    नगरपालिकाका मेयर रामज्ञान मण्डल र उपमेयर रेणुकुमारी झाबीच बीचको विवाद अहिले मुद्दामामिलासम्म पुगिसकेको छ । यी दुवै जनप्रतिनिधिले एक अर्का्विरुद्ध हत्याको आरोपमा मुद्दा दर्ता गराएपछि नगरपालिकामा खैलाबैला नै मच्चिएको छ । त्यसमाथि पनि नगरपालिकाको दैनिक कार्यसम्पादन प्रभावित हुँदै आएको बताएका छन् ।

    हत्याको आरोपमा जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी परेपछि मेयर, उपमेयर र तीन वडाध्यक्ष तथा एक मनोनित सदस्यसहित ६ कार्यपालिका सदस्य सम्पर्क बिहीन छन् ।

    यसरी नगरपालिका हाँक्ने जनप्रतिनिधि नै सम्पर्क बिहीन हुँदा कामकाजका लागि आउने सेवाग्राही मर्कामा पर्न थालेका छन्।

    हँसपुर नगरपालिका २ स्थित बघचौडाका ५७ वर्षीय तपेश्वर मण्डलको मृत्युको घटनामा मेयर रामज्ञान मण्डल, उपमेयर रेणुकुमारी झा, वडा नम्बर २ का वडाध्यक्ष उदयकुमार साह, ३ का वडाध्यक्ष उदयकुमार सिंह, ४ का वडाध्यक्ष किसोरी यादव तथा मनोनित कार्यपालिका सदस्य श्याम राउतमाथि हत्याको आरोपमा उजुरी परेको छ ।

    नगरपालिकामा मेयर, उपमेयरसहित ९ वडाध्यक्षमध्ये ३ वडाध्यक्ष कार्यालयमा उपस्थित नभएपछि नगरपालिका तथा वडामार्फत प्रदान गर्दै आएका सेवासुविधासमेत प्रवाह हुन सकेको छैन ।

    नगरपालिकाले प्रदान गर्ने स्वास्थ्य, कृषि, भूमि, सामाजिक सुरक्षा कार्यक्रम प्रभावित भएको छ भने मातहातका शिक्षा, स्वास्थ्य, कृषि, पशु लगायतका सेवा कार्यालयमा कार्यरत कर्मचारीले दशैंको मुखमा तलब भत्ता पाउने कि नपाउने टुंगो नभएको भन्दै चिन्ता ब्यक्त गरेका छन् ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राजनीति, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस