• The Public Today
  • लागुऔषधसहित सातजना पक्राउ


    महोत्तरी, असोज ३ गते : भारतीय नम्बरप्लेट बिआर ३० पी ८६०७ नम्बरको सेतो रङको स्कार्पियो गाडीमा चार हजार ३२६ एम्पुल लागुऔषधसहित सातजनालाई नेपाल प्रहरी, लागुऔषध नियन्त्रण ब्यूरोले पक्राउ गरेको छ ।

    [custom-facebook-feed]

    पक्राउ पर्नेमा भारत विहारका राजा कुणाल, राजेशकुमार जयसवाल, अभिषेककुमार जयसवाल, उतिमलाल साह, उदयपुरका सुजेन्द्र लोहनी, काभ्रेपलाञ्चोकका पेमा लामा र सिरहाका अशोक सिंह रहेका छन् । ब्यूरोले बिहीवार पत्रकार सम्मेलन गरी स्कार्पियो गाडीको भित्रपट्टि लुकाएर ल्याएको अवस्थामा बुधबार पक्राउ गरेको जानकारी दिएको हो ।

    ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले प्लाष्टिकको बाकसभित्र चामल र पिठोको भित्र लुकाएर ल्याएको अवस्थामा पक्राउ गरेको जानकारी दिनुभयो । पक्राउ परेकासँग प्रहरीले डाइजेपाम एक हजार ४५७, नुर्फिन एक हजार ३७ र फेनार्गन एक हजार ४१७ एम्पुल बरामद गरेको छ । पक्राउ परेकालाई आवश्यक अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

    यस्तै, नेपाल प्रहरीले वैदेशिक रोजगारीको नाममा ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले लाजिम्पाटमा रहेको शिखर इन्टरनेशनल म्यानपावरबाट रु छ लाख ठगी गर्ने काठमाडौँका ३७ वर्षीय पद्या जोशीलाई आज लाजिम्पाटबाट पक्राउ गरेको हो ।

    पक्राउ परेकी जोशीले वैदेशिक रोजगारीको नाममा विभिन्न मुलुक पठाउने भनी कास्कीका मनोहर बुढाथोकीसँग रु छ लाख ठगी फरार रहेको महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिनुभयो ।

    जोशीले कतार प्रहरीमा काम गरे मासिक छ हजार रियाल हुन्छ, जानलाई रु छ लाख १५ हजार लाग्छ भनी काठमाडौँ बैंक लिमिटेडको खातामा रु छ लाख जम्मा गर्न लगाएको अनुसन्धानमा खुलेको थापाले बताउनुभयो । पक्राउ पछि जोशीलाई आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाएको महाशाखाले जनाएको छ । रासस


    क्याटेगोरी : राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस