• The Public Today
  • राजपा–समाजवादी एकता ‘ठाकुरकै नेतृत्वमा’


    काठमाडौँ, असोज ७ गते : राष्ट्रिय जनता पार्टी (राजपा) को नेतृत्व सोमबारबाट महन्थ ठाकुरले सम्हालेका छन् । अध्यक्षमण्डलका ६ सदस्यले पालैपालो संयोजन गर्ने सहमतिबमोजिम ठाकुरले दोस्रोपटक नेतृत्व लिएका हुन् ।

    [custom-facebook-feed]

    नेतृत्व परिवर्तनसँगै समाजवादी पार्टीसँगको एकीकरण प्रक्रियाले गति लिने विश्वास गरिएको छ । महाधिवेशनअघि एकीकरण गर्ने कि पछि भन्ने विवाद पार्टीभित्र छ । अनौपचारिक छलफलका क्रममा वैचारिक र सांगठिनक विषयका धेरै मुद्दा टुंगोमा पुगेको दाबी दुवै पक्षका नेताको छ तर अध्यक्षमण्डल सदस्य राजकिशोर यादव र अनिल झा महाधिवेशनपछि मात्रै एकता गर्नुपर्ने कित्तामा उभिएपछि समस्या आएको राजपाका एक पदाधिकारीले बताए ।

    अध्यक्षमण्डलका अर्का सदस्य महेन्द्रराय यादवका अनुसार महाधिवेशनअघि दुई पार्टीबीच एकीकरण गर्ने सम्भावना प्रबल बन्दै गएको छ । दुई पार्टीका वार्ता समितिले एकीकरणका लागि अनौपचारिक संवाद गरिरहेको उनले जानकारी दिए । ‘हाम्रो जोड एकीकरण भएपछि संयुक्त एकता महाधिवेशन गर्नेतिरै लक्षित छ,’ उनले भने । ठाकुर संयोजक बनेपछि एकता प्रक्रिया सहज बन्ने नेताहरूको विश्वास छ । ठाकुरको दुईमहिने कार्यकालभित्रै एकीकरणलाई टुंगोमा पुर्‍याउन पहल हुने उनीहरूको भनाइ छ । राजपाले पछिल्लोपटक कात्तिक २८–३० मा महाधिवेशनको मिति तोकेको छ । मंसिरदेखि तीनपटक मिति सर्दै कात्तिकमा आइपुगेको हो ।

    महाधिवेशनपछि प्रक्रिया जटिल हुने भन्दै राजपाका तत्कालीन संयोजक राजेन्द्र महतो, शरदसिंह भण्डारी, महेन्द्रराय यादव तत्काल एकता गर्नुपर्ने पक्षमा छन् । आन्तरिक कलहले ठाकुर सार्वजनिक रूपमा खुलेका थिएनन् । झा र यादवले महाधिवेशनअघि नेताकार्यकर्ता व्यवस्थापन जटिल हुने तर्क गर्दै आएका छन् ।
    राजपामा एकीकरणपूर्वका ६ मधेसकेन्द्रित दलका अध्यक्षहरूले पालैपालो नेतृत्व गर्दै आएका छन् । विधानमै दुई–दुई महिनाबीच आलोपालो नेतृत्व लिने उल्लेख छ । आलोपालो प्रणालीअनुसार अध्यक्षमण्डलका ६ सदस्यले संयोजक सम्हालिसकेका छन् । ठाकुरको पालोबाट दोहोरिने क्रम सुरु भएको छ । पार्टीको महाधिवेशन वा एकीकरण प्रक्रिया नटुंगिएसम्म नेतृत्व आलोपालो प्रणालीबाटै चल्ने नेता महेन्द्रराय यादवले बताए ।

    महाधिवेशनबाट भने एकल नेतृत्वमा जाने गरी राजपाले विधान संशोधन गरेको छ । एकीकरण गर्दा राजपा अध्यक्षमण्डलका ६ नेताको व्यवस्थापन कसरी गर्ने भन्ने मुख्य चुनौती छ । केही दिनअघि राजपाका तत्कालीन संयोजक राजकिशोर यादवले महाधिवेशनपछि पार्टी एकल नेतृत्वमा जाँदा केन्द्रदेखि तलसम्मको व्यवस्थापन सहज हुने प्रतिक्रिया दिएका थिए । ‘तल्ला तहका संरचना पार्टी एकीकरण भएपछि पनि समायोजन भएका छैनन्, तिनको व्यवस्थापनमा ठूलो समस्या छ,’ उनको भनाइ थियो । कान्तिपुर


    क्याटेगोरी : राजनीति, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस