• The Public Today
  • विद्यार्थी नै नभएको यो सामुदायिक विद्यालय, घर बसेर शिक्षकले खान्छन् तलब


    दीपक कर्ण/ शैलेन्द्र क्रान्ति-
    जनकपुरधाम, असोज ९ गते :
    तराई मधेशको अधिकांश सामुदायिक विद्यालयहरुको व्यतिथि कसैबाट लुकेको छैन । पर्याप्त दक्ष जनशक्ति हुँदाहुँदै समेत कतिपय सामुदायिक विद्यालयमा पठन पाठन प्रभावकारी हुन नसकेको व्यापक जनगुनासो सुनिन्छ ।

    कतिपय विद्यालयमा शिक्षक अभावले विद्यार्थीको पढ्न पाएका छैनन् भने, कतिपय विद्यालयमा शिक्षक त छ तर पढाइ हुँदैन । विद्यालय भनेपछि त्यहाँ पढ्ने विद्यार्थी र पढाउने शिक्षक छन् भन्ने बुझिन्छ । तर धनुषाको एउटा यस्तो सामुदायिक विद्यालय छ । जहाँ विद्यार्थी एउटा पनि छैनन् । मात्र शिक्षक छन् ।

    धनुषाको हंसपुर नगरपालिकाको मोरहा स्थित प्राविधिक निम्न माध्यमीक विद्यालय । वि.स. २०१८ सालमा स्थापना भएको यस विद्यालयमा अहिले एउटा पनि विद्यार्थी अध्ययन गरिरहेका छैन । तर विद्यालयमा ९ जना शिक्षक शिक्षिका कार्यरत्त छन् ।

    कक्षा ८सम्म पढाई हुने यो विद्यालयको रजिष्टरमा २ सय विद्यार्थी अध्यनरत रहेको तथ्यांक भने छ । तर आठवटै कक्षाको विद्यार्थीको हाजिरी रजिष्टर चेक गर्दा कुनैपनि दिन एउटा पनि विद्यार्थीको उपस्थिती देखिदैन । यति मात्र होइन कुनै–कुनै कक्षाको हाजीरी रजिष्टरमा असोज महिनाको हाजीरी लिस्टका लागि इन्ट्री समेत गरिएको छैन ।

    विद्यार्थी नै नभएपछि शिक्षकहरु विद्यालयमा सधैं हाजरी हुने र हाजिरी गरेर शिक्षक आ आफ्ना घर फर्केर निजी काममा लाग्छन् । गत मंगलबार दिउँसो २ बजे विद्यालय बन्द थियो । नजिकै रहेको रुखको छहारीमा केहि स्थानीयहरु थकाइ मार्दै थिए ।

    [custom-facebook-feed]

    विद्यालय किन बन्द भएको प्रश्नको जवाफमा प्रअ.मण्डलले विद्यार्थी नरहेको र सबै शिक्षक हाजिरी गरेर आ आफ्नो घर गएको बताए । उनले तत्कालै विद्यालयको कार्यालय खोले । हाजिरी रजिष्टरमा सबै शिक्षकको हाजिरी थियो ।
    विद्यालयको शिक्षकको नामाबलीमा प्रधानाध्यापक रामविलाश मण्डल, शिक्षकहरु रामेश्वर रजक, रामबली पजियार, शिक्षिका गीता बराल मण्डल र बालविकास शिक्षिका शशिकला मण्डल उल्लेख भएको थियो ।


    विद्यालयमा एउटा पनि विद्यार्थी नहुँदा आन्तरिक स्रोतबाट विद्यालयले मनोमानी दुईजना शिक्षक नियुक्त समेत गरेको छ । जसमा हरिनारायण मण्डल र नागेश्वर मण्डललाई निजी श्रोतबाट राखिएको छ । यस्तै कार्यालय सहायकका लागि विल्टु मण्डललाई राखिएको छ । शिक्षकको नामावली हेर्दा त्यस विद्यालयमा मण्डल समुदायको वर्चस्व देखिन्छ ।
    विद्यार्थी नै नरहेको यस विद्यालयमा शिक्षकको तलबभत्ता बापत मासिक १ लाख ५० हजार रुपैयाँ खर्च हुने गरेको छ ।

    विद्यार्थीको नामाकरण छ, तर हाजीरी छैन

    विद्यालयमा विद्यार्थी आउँछन् कि आउँदैनन् भन्ने जिज्ञासामा प्रधानाध्यापक मण्डलले जवाफ दिए ‘पढ्न केहि विद्यार्थी आउँछन् ।’ तर हाजीरी रजिष्टरमा हेर्दा एकजना पनि विद्यार्थीको हाजीरी भेटिएन ।

    विद्यालयको हाजिरी रजिस्टरमा कक्षा ८ मा २८ विद्यार्थीको नामाकरण गरिएको छ । तर असोज महिनाको हाजीरी हेर्दा एकजना पनि विद्यार्थीको उपस्थि छैन । कक्षा ७ मा २१ जना, कक्षा ६ मा २० जना, कक्षा ५ मा १२ जना, कक्षा ४ मा १६ जना, कक्षा ३ मा ३०जना, कक्षा २ मा २६ जना, कक्षा १ मा ५२ जना र बालबिकासमा १६ जना विद्यार्थीको नामाकारण रजिस्टरमा देखिन्छ । तर हाजीरी रजिष्टरमा एकजना पनि विद्यार्थीको हाजरी भएको देखिदैन ।

    छिमेक गाउँको विद्यालयमा पढ्न जान्छन् विद्यार्थी

    मोरहा गाउँमे रहेको यो निम्न माध्यमिक विद्यालयमा नपढेर त्याँका बालबालिका छिमेक गाउँ झटियाहीस्थित रामजानकी माध्यमिक विद्यालयमा पढ्न जाने गरेका छन् । रामजानकी माविबाट पढेर फर्केका विद्यार्थीले यस मोहार निमाविमा पढाइ नहुँदा छिमेक गाउँको विद्यालमा पढ्न जाने गरेको बताएका छन् ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस