• The Public Today
  • नेपाल असोज १३ मा खुला दिसामुक्त राष्ट्र घोषणा हुने


    काठमाण्डौं, असोज १० गते : सरकारले आगामी असोज १३ गते ‘नेपाललाई खुला दिसामुक्त राष्ट्र’ घोषणा गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरेर नेपाललाई खुला दिशा मुक्त राष्ट्र घोषणा गर्ने कार्यक्रम रहेको खानेपानी मन्त्री विना मगरले जानकारी दिइन् ।

    [custom-facebook-feed]

    सो विषयमा आज सिंहदरबारमा आयोजित कार्यक्रममा खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले यो अभियान गाउँगाउँसम्म पुग्नु नै उपलब्धिपूर्ण भएको बताउनुभयो । देशमा विभिन्न किसिमका कठिनाइ हुँदाहुँदै पनि आम मानिसमा चेतना बढ्दै गएको उहाँको भनाइ थियो । मन्त्री मगरले भन्नुभयो, “कतिपयले विदेशबाट कमाएर ल्याएको पैसाले त कतिले गहनासमेत बेचेर शौचालय बनाएका छन् ।”

    मन्त्रालयका सचिव माधव बेल्बासेले यो अभियान तत्कालका लागि मात्रै नभएर दीर्घकालीन महत्वको भएको बताउनुभयो । आम जनताका बानीमा एकैपटक परिवर्तन ल्याउन नसकिएको र बाढी तथा पहिरोलगायत प्रकृतिक प्रकोपले पनि अभियानमा बाधा पु¥याएको उहाँले औँल्याउनुभयो ।

    सरकारले २०६८ देखि खुला दिसामुक्त क्षेत्र घोषणा शुरु गरेको हो । विसं २०६९ मा कास्की नेपालको पहिलो खुला दिसामुक्त जिल्ला घोषणा भएको थियो । सरकारले चालु आवको नीति तथा कार्यक्रममा देशका बाँकी सबै पालिका र जिल्ला खुला दिसामुक्त घोषणा गरेको थियो ।

    अहिले देशका झण्डै सबै घरधुरीमा सरसफाइको आधारभूत सुविधा तथा शौचालयको पहुँच पुगेको राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समिति सचिवालयले जनाएको छ । देशभर कूल ५६ लाख ६० हजार २१४ घरधुरीमा शौचालय निर्माण भएको मन्त्रालयले जनाएको छ ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस