जनकपुरमा यसरी हुदैछ दशैंको तयारी

पब्लिक समाचारदाता
जनकपुरधाम, असोज ११ गते :
नेपालीहरुको महान चाड विजयादशमी सुरु हुन एक दिनमात्र बाँकी रहँदा जनकपुरमा तयारी तिव्र पारिएको छ। दशैंलाई भव्य बनाउन यहाँका स्थानीय युवा क्लबहरु जुटेका छन्।

[custom-facebook-feed]

प्रमुख शक्तिपीठ राजदेवी मन्दिरसहित एक दर्जनभन्दा बढी स्थानमा शक्तिस्वरुपा दूर्गाको मूर्ति स्थापना गरी दशैंमा पूजाअर्चना गर्ने गरिन्छ। राम मन्दिर परिसरभित्र रहेको राजदेवी मन्दिरसहित अन्य स्थानमा मूर्ति स्थापना गरी पूजा गरिने ठाउँहरुमा आकर्षक पण्डाल, रंगीचंगी बल्ब जडान गर्ने कार्य सुरु भइसकेको छ।

राजा जनकका कुलदेवता भनिएको प्रसिद्ध राजदेवी मन्दिरमा आकर्षक पण्डाल र भिलिमिल बत्तीहरु जडान गर्ने कार्य करिब पूरा भइसकेको महावीर युवा कमिटीले जनाएको छ। पण्डाल, बत्तीलगायत पूजा व्यवस्थापन गर्न १० लाखभन्दा बढी खर्च हुने अनुमान गरिएको छ।

यसैगरी, रामानन्द युवा क्लब हरेक वर्ष झैँ यस वर्ष पनि माटोको मूर्ति निर्माण गरी पूजाको तयारीमा जुटेको छ। पूजालाई भव्य बनाउन क्लबले रामानन्द चोकमै पण्डाल निर्माण थालेको छ। घटस्थापना देखि सुरु हुने पूजाअर्चना विजया दशमीसम्म चल्ने बताउँदै क्लबका अध्यक्ष मनमोहन साहले दशैंलाई भव्य बनाउन नियमित पूजाका साथै भजन संध्या लगायतको कार्यक्रम गरिने जानकारी दिए। पूजा सम्पन्न गर्न १० लाख खर्च लाग्ने अनुमान रहेको बताउँदै साहले टोल छिमेक, नगरवासीको सहयोगले २० वर्षदेखि पूजा सम्पन्न हुँदै आएको बताए।

यसका साथै जनकपुरको मुरली चोक, भ्रमरपुरा चोक, पिडडीया माइस्थान, रजौल लगायतको क्षेत्रका युवा क्लबहरु पनि दशैंको तयारीमा जुटेका छन्।