• The Public Today
  • मनसुन सकिने संकेत देखिएन


    महोत्तरी, असोज १२ गते – आइतबारदेखि दशैँ सुरु भएको छ । दशैँ मनाउन घर फर्कनेहरुको चहलपहल बढ्दैछ । बजारमा किनमेल गर्नेको घुईंचो पनि उत्तिकै छ । तर झरी र बादल नहट्दा घर फर्कने र किनमेल गर्नेहरुलाई सास्ती थपिएको छ ।

    [custom-facebook-feed]

    काठमाण्डौ ओहोरदोहोर गर्ने मुख्य नाका नागढुंगामा जाम हुनुमा सडक चिप्लो हुनु पनि एउटा कारण हो । खाल्डाखुल्डी रहेको सडकमा पानी परेपछि झन् चिप्लो हुने भएकाले गाडी बिस्तारै गुड्ने र त्यसले चाप हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ ।

    यस्तै झरीकै कारण धेरै ग्रामिण सडकमा गाडी चल्न सकेका छैनन् । यसअघि असार साउनमा वर्षाका कारण बन्द हुने ग्रामिण सडकमा दशैँको बेला गाडी चल्ने गर्थे । तर यस वर्ष दशैँ सुरु हुँदा पनि वर्षा नहटेकाले धेरै ग्रामिण सडकमा गाडी चल्न सकेका छैनन् । यसबाट दशैँ मनाउन घर फर्कनेहरुलाई सास्ती भएको छ ।

    अझै मनसुन सकिने संकेत नदेखिएकाले दशैँको मुख्य दिन पनि घमाइलो नहुने हो कि भन्ने चिन्ता छ । माैसमविद् पनि उत्तिकै चिन्तामा छन् । ‘हामीले एक हप्तासम्मको मौसम पूर्वानुमान गर्न सक्छौं, अहिले हेर्दा एक हप्तामा मनसुन सकिने संकेत देखिंदैन’ मौसमविद् वरुण पौडेलले भन्नुभयो, ‘दशैँको मुख्य दिन फूलपातीदेखि विजयादशमीसम्म मौसम यसै होला भन्न सकिन्न । अहिलेको तुलनामा झरी कम भए पनि फाट्टफुट्ट पानी पर्ने सम्भावना देखिन्छ ।’

    सामान्यतया सेप्टेम्बर २३ अर्थात अघिल्लो हप्ता सोमबार नै मनसुन सकिनुपर्ने हो । तर यस वर्ष मनसुन लम्बिएको छ ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस