मौका छोपेर मनपरी भाडा असुली

बर्दिबास, असोज १७ गते । सर्लाहीको हरिपुर्वाका २१ वर्षीय प्रेम यादव दसैं मनाउन काठमाडौंबाट घर फर्किन कोटेश्वरमा पशुपति एसी हायसको टिकट लिए। बर्दिबास आउन उनीसँग त्यहाँ काउन्टरले १ हजार भाडा लियो। उनलाई काउन्टरले को १ ख ६१६१ नम्बरको हायसमा चढाएर पठायो ।

[custom-facebook-feed]

बसलाई महोत्तरीको बर्दिबासस्थित कालापानी जंगलमा मंगलबार प्रहरी तथा यातायात कार्यालयको टोलीले रोक्यो। प्रेमले टोलीसँग गुनासो गरे ‘६ सय रुपैयाँ भाडामा १ हजार लियो।’ लगत्तै बस चालक सन्तोष श्रेष्ठले प्रेमलाई थर्काए, ‘बसमा किन चढेको ?’

अर्का चालक अर्जुन नेवारले बा ५ ख ६९९७ नम्बरको हायसमा आफूसहित १८ जनालाई बोकेर काठमाडौँबाट धनकुटा हिँडेका थिए। दु्रत गतिमा हुइँकिरहेको  गाडीलाई प्रहरीले रोक्यो। १६ जनाको मात्र सिट क्षमता रहेको हायसमा यात्रु संख्या बढी थियो। ‘रिर्जब’ नाम दिएर हायसमा बढी यात्रु चढाइएको थियो। 

‘कोचेर यात्रु लाने हाम्रो रहर होइन’, अर्जुनले प्रहरीलाई फकाउने शैलीमा भने, ‘गाडी नपाएर यात्रु कोचिनुपर्ने बाध्यता छ।’ 

काठमाडौँदेखि काँकडभिट्टा जाने अर्को हायसले २ सय रुपैयाँ भाडा बढी लिएको पाइयो। त्यहाँ १ हजार ४ सय रुपैयाँ मात्र जम्मा भाडा लाग्छ। बा ५ ख ५२६१ नम्बरको उक्त हायसलाई ट्राफिक प्रहरीले चिट काट्यो। तर चालक विमल केसीले भने काउन्टरबाटै बदमासी भएको बताए। उनले भने, ‘काउन्टरले नै बदमासी गर्छ, बढी भाडा लिन्छ।’

माथिको दृश्य मंगलबार वीपी राजमार्ग अन्तर्गत बर्दिबासमा प्रहरीले गरेको संयुक्त छड्केको हो। यातायात सेवा कार्यालय बर्दिबास महोत्तरी, जिल्ला ट्रफिक प्रहरी कार्यालय बर्दिबास महोत्तरी र इलाका प्रहरी कार्यालय बर्दिबासले मंगलबार राजमार्गमा संयुक्त छड्केमा यस्तो पाइएको हो।

सो क्रममा लामो दुरीको यात्रामा चाडवाडको अवसर पारी सार्वजनिक यातायातले मनपरी भाडा असुलेको पाइएको छ। 

सवारी साधनहरुमा जेष्ठ नागरिक, महिला, अपाङ्गलाई आरक्षण सिटको व्यवस्था छ। तर, हायसमा कुनै आरक्षण सिटको व्यवस्था नभएको पाइएको यातायात सेवा कार्यालय बर्दिबासका प्रमुख शशिप्रसाद यादवले बताए।

जाँचका क्रममा क्षमताभन्दा बढी यात्रु चढाएको, बढी भाडा लिएको, आरक्षण सिटको व्यवस्था नगरेको, जेष्ठ नागरिकलाई भाडामा छुट नदिएको, दु्रत गतिमा गाडी चलाएको  जस्ता लापरबाही देखिएको जिल्ला ट्रफिक प्रहरी कार्यालय बर्दिबासका प्रमुख प्रकाशबहादुर सिंहले जानकारी दिए ।

लामो दुरीको यात्रा गर्ने यात्रुले भने बीच बाटोमा चेकजाँच गरिदा आफूहरुको समयमा परेको गुनासो गरेका छन्। काठमाडौँको कोटेश्वर, बसपार्क र चावहिलमै यस्तो जाँचको व्यवस्था गरिनु पर्ने उनीहरूको माग छ।

काठमाडौँको कोटेश्वरमा धेरैजसो रहेका काउन्टरसँगै ट्राफिक प्रहरी कार्यालय जोडिएकै भए पनि त्यहाँ प्रहरीले चेक जाँच नगरेको यात्रुले बताएका छन्। ‘कोटेश्वरमै सेटिङमै काम हुन्छ, कसैले हेर्दैन,’ एक यात्रुले भने, ‘बीच बाटोमा हाम्रो बिजोग पार्न चेकजाँच गरिन्छ।’

दर रेट भन्दा बढी भाडा लिने सवारीमाथि छड्के अनुगमनलाई अझै प्रभावकारी बनाउनुपर्ने यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए। ‘दसैँमा  काठमाडौँबाट घर आउने यात्रु गाडीको सिट पाउनै मुस्किल हुन्छ। गाउँ–गाउँबाट काठमाडौँ जाने सवारी रित्तै जान्छ,’ उनले भने, ‘हामीले भाडा धेरै लियौँ भन्दा पनि यातायात व्यवसायी घाटामा पर्ने गरेका छन्।’ 

चाडवाडमा यात्रुलाई सहयोग गर्न सरकारले यातायात व्यवसायीहरुलाई करमा सहुलियत दिनु पर्ने उनको माग छ।

साभार : अन्नपुर्ण पोस्ट