फेसबुकको लिब्रालाई झड्का, पेपल बाहिरियो

सान फ्रान्सिस्को, १८ असोज (रासस-सिन्ह्वा) – संयुक्तराज्य अमेरिकाको निकै लोकप्रिय अनलाइन भुक्तानी कम्पनी पेपल होल्डिङ्सले फेसबुकको अग्रसरतामा गठन भएको लिब्रा एसोसिएसनबाट बाहिरिने घोषणा गरेको छ ।

[custom-facebook-feed]

फेसबुकको अग्रसरतामा रहेको डिजिटल मुद्रा परियोजनाका २८ वटा सदस्यमध्ये पेपल एक थियो । पेपलले शुक्रबार एक विज्ञप्ति प्रकाशन गरी विश्वव्यापी यस क्रिप्टोकरेन्सी क्लबबाट बाहिरिने घोषणा गरेको हो । यस क्लबमा भिसा, उबर, लिफ्ट र मास्टरकार्ड समेतका कम्पनीहरु सदस्य छन् ।

अमेरिकाको सान जोजेमा मुख्यालय रहेको पेपलले जारी गरेको विज्ञप्तिमा कम्पनीले हालकै संरचना र विधिबाट बढीभन्दा बढी प्रयोगकर्तालाई सुरक्षित र भरपर्दो सेवा प्रवाह गर्ने जनाएको छ ।

गत जुन २०१९ मा औपचारिक रुपमा घोषणा गरिएको लिब्राबाट संस्थापक सदस्य बाहिरिएको यो पहिलो कम्पनी हो । अरु सदस्यको साझेदारीमा आगामी सन् २०२० को जुनमा लिब्रालाई प्रयोगमा ल्याउने घोषणा गरिएको थियो ।

तर पेपलले फेसबुकसँगको सहकार्यलाई निरन्तरता दिने जनाएको छ ।

अमेरिकी अखबार वालस्ट्रिट जर्नलले लिब्राको सदस्यबाट भिसा र मास्टरकार्ड समेतका अरु कम्पनीले पनि संस्थापक सदस्य त्याग्न लागेको खबर छापेसँगै पेपलले यस्तो निर्णय गरेको छ ।