• The Public Today
  • अनुदानको रकम उखु किसानले पाएनन्


    पब्लिक समाचारदाता
    महोत्तरी, असोज १९ गते :
    सरकारले उखु किसानका लागि दिने भनिएको अनुदानको रकम अझै नपाएको किसानहरुले गुनासो गरेका छन् ।

    सिरहाको नगरहा गाउँपालिका ३ मा रहेको हिमालय सुगर मिल्समा आर्थिक वर्ष ०७५/७६ मा उखु बेचेका ६ हजार किसानले पाउनुपर्ने ८ करोड ४१ लख ६७ हजार २ सय ७४ रुपैयाँ रकम अझै नपाएका हुन् । किसानले अनुदानको रकम नपाउँदा मर्कामा परेको गुनासो गर्दै आएको छ ।

    [custom-facebook-feed]

    उखु मिलले २०७६ मा ६ हजार किसानबाट १३ लाख २५ हजार ९ सय ७८ क्विन्टल उखु खरिद गरेको मिलले जनाएको छ । सो बापत मिलले दिनुपर्ने भुक्तानी ०७६ असार मसान्तमा नै गरि सकिएको मिल्सका उखु विकास अधिकृत अवध किशोर यादवले बताए । उनले भने, “हामीले किसानलाई दिनुपर्ने सम्पूर्ण भुक्तानी दिई सकेका छौं, सरकारको तर्फबाट आउनु पर्ने अनुदानको रकम नपाउँदा किसानले हामीलाई ताकेता गरेर हैरान गरिरहेका छन् ।”

    आर्थिक वर्ष २०७४/७५ को पनि करिव ५३ लाख रुपैयाँ बाँकी रहेको छ । त्यसवेला पनि कोष तथा लेखा नियन्त्रण कार्यालय, सिरहाले किसानले पाउनु पर्ने रकम दुइ किस्ता गरेर दिएपनि पछिल्लो किस्ता दिन बाँकी रहेको छ ।

    किसान, चिनी उद्योग र सरकारबीचको सम्झौता पछि गत वर्ष उखुको मूल्य ५ सय ३६ रुपैयाँ ६४ पैसा प्रति क्विन्टल तय गरेको थियो । जसमध्ये चिनी मिलले ४ सय ७१ रुपैयाँ २८ पैसा र सरकारले ६५ रुपैयाँ ३६ पैसा अनुदान दिँदै आएको थियो ।

    यता, कोष तथा लेखा नियन्त्रण कार्यालय सिरहाका प्रमुख राधेश्याम गिरिले आफूहरुले आर्थिक वर्ष २०७४/७५ को किसानले पाउनु पर्ने रकम कृषि मन्त्रालयलाई सोध्दा अर्थलाई देखाउने र अर्थलाई सोध्दा कृषिलाई देखाउने गरेर आल टाल गरिरहेको जनाए । उनले मन्त्रालयबाट पठाएको सबै रकम आफूहरुले वितरण गरिसकेको र बाँकी रकमको पहल भएपनि प्रभावकारी हुन नसकेको बताए ।

    सरकरले आर्थिक वर्ष २०७५/७६ को लागि उखु देशभरकै उखु किसानको लागि ९५ करोड अनुदान रकम छुट्याएको छ । त्यो रकम अझै किसानको हातमा पुग्न सकेको छैन ।


    क्याटेगोरी : अर्थ, मुख्य समाचार

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस