दीपक कर्ण-
जनकपुरधाम, चैत्र ४ गते । प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रदेशको स्थायी राजधानी र नामाकरण सहमतिको आधारमा चैत्र मसान्त भित्रै तोकिने बताउनुभएको छ । मन्त्री यादवले प्रदेश सरकार फोरम र राजपाको बहुमतको भएपनि सबैको सहमतिमा मात्र प्रदेशको नामाकरण र स्थायी राजधानी तोकिने बताउनुभयो ।
सरकार बहुमतको दम्भमा अगाडि नबढ्ने स्पष्ट पार्दै मन्त्री यादवले सबैको सल्लाह, सुझाव र भावनालाई समेटेर प्रदेश सरकारले प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्ने बताउनुभयो । मुलुक संघीय संरचनामा गएसँगै प्रदेश सरकारले शून्यबाट काम थाल्नु परेकाले केही–केही कामहरु गर्न ढिलाई भएको स्पष्ट पार्दै मन्त्री यादवले अब प्रदेश सरकारको काम तीव्र गतिमा अगाडि बढ्ने बताउनुभयो । चैत मसान्त भित्र प्रदेशको स्थायी राजधानी र नामाकरणको विषयले प्राथमिकता पाउने बताउँदै उहाँले चालु अधिवेशनबाट नै चाँडै टुंग्याउने पनि स्पष्ट पार्नुभयो ।
प्रदेशको नाम र स्थायी राजधानी कहाँ हुने भन्ने विषयमा व्यापक रुपमा छलफल भइरहेको भएपनि आफू प्रदेशको मन्त्री भएको हिसाबले आफूलाई लागेको कुरा तत्कालै सार्वजनिक गर्न नमिल्ने उहाँले बताउनुभयो । प्रदेश सरकार संघीयताको मर्म र भावना अनुरुप अगाडि बढिरहेको बताउँदै मन्त्री यादवले राजधानी कहाँ हुन्छ भन्नु भन्दा पनि सिंहदरबारको अधिकार घर–घरमा आयो आएन भन्ने विषय महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।
प्रदेश नं. २ अन्तर्गत रहेका ८ जिल्लामा बसोबास गर्ने जनताको भावना र मर्म अनुसार प्रदेशको नामाकरण गरिने बताउँदै उहाँले अहिले मधेश,मध्य मधेश,मिथिला,मिथिला–भोजपुरा,जनक लगायतका नामहरु चर्चामा आएको र ती नामलाई मध्यनजर गर्दै छलफल अगाडी बढाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रदेशको नाम र स्थायी राजधानीको विषयमा विवाद गर्न हुँदैन । यदि हामी त्यही विषयलाई लिएर विवाद गर्ने हो भने संघीयतामाथि खतरा हुन सक्दछ । यद्यपी प्रदेश २ को भाषा र स्थानको बिषयमा सहमति भईसकेको श्रोतको दाबी छ ।