मिथिलामा देवी प्रतिमा विसर्जन

महोत्तरी, असोज २२ गते । मिथिलामा यसपालिको दशहरा (दशैँ) पर्वका लागि स्थापित देवी प्रतिमा मङ्गलबार विसर्जन गरिएका छन् ।

[custom-facebook-feed]

भाकल र उत्सवका लागि माटो मुछेर निर्माण गरी प्राणप्रतिष्ठा गरिएका देवी प्रतिमा असोज शुक्ल दशमी तिथिमा पवित्र तलाउमा विसर्जन गरिएका हुन् । विसर्जन गर्दा गहिरो पानीमा मूर्ति (प्रतिमा) लाई चुर्लुम्म डुबाउन पर्ने चलन छ ।

मिथिलामा पर्वको उत्सव मनाउन सामुहिक रुपमा वा भाकल पूरा गर्न देवी प्रतिमा निर्माण गरी शास्त्रोक्त विधिले प्राण प्रतिष्ठा गरी नवरात्रभरि पूजाआराधना गर्ने परम्परा छ । यद्यपि असोज शुक्ल प्रतिपदाबाट कर्मकाण्डी ब्राह्मणबाट दैनिक चण्डीपाठ गरिए पनि निर्मित प्रतिमाको प्राण प्रतिष्ठा भने फूलपातीका दिन प्रतिमाका आँखा उघारेपछि मात्र गरिन्छ ।

नवमीका दिन नवदुर्गाको पूजाआराधना पूर्ण हुने मैथिल मान्यता छ । देवी प्रतिमा बनाइएका यस्ता स्थलमा दशमीका दिन बिहान चण्डीपाठ गर्ने ब्राह्मणले त्यहाँ राखिएको कलशको जलले अभिशेक गर्दै यजमान (कर्ता, दर्शनार्थी) लाई जमरा दिने गर्दछन् । मिथिलामा पछिल्लोपटक पर्वते समुदायसँगको घुलमिलले टीका लगाउन थालेपनि मैथिल परम्परामा भने यो चलन नरहेको पाका मैथिल (मिथिलाका बासिन्दा) बताउँछन् । 

अभिशेक र जमरा लगाइएपछि देवी प्रतिमा पवित्र जलाशयमा विसर्जन गरिन्छ । यसक्रममा देवी दुर्गा भवानीको जयजयकार गर्दै नाचगान गरेर दशहरा पर्व सम्पन्न गर्ने मैथिल परम्परा रहेको बर्दिवास नगरपालिका–२ का कर्मकाण्डी ब्राह्मण महेशकुमार झा बताउँछन् । 

माटो मुछेर बनाइएका देवी प्रतिमाबाहेक परम्परादेखि स्थापित धातुका मूर्ति रहेका देवी मन्दिरमा भने देबी पूजन विसर्जन गरेर प्रसादस्वरुप जलअभिशेक र जमरा पुजारीले दर्शनार्थीलाई दिने गर्दछन् । रासस