• The Public Today
  • दाइजोका कारण रञ्जुको हत्या


    मोरङ, असोज २६ गते : दाइजो नदिएको भन्दै जोगबनीमा एक महिलाको हत्या भएको छ । विराटनगर महानगरपालिका–११ पञ्चमुखी चोकका मनिकचन्द सहनीकी २२ वर्षीया छोरी रञ्जुदेवी सहनी (बहरदार) को जोगबनीमा हत्या भएको हो ।

    [custom-facebook-feed]

    भारतको अररिया जिल्लामा पर्ने परवाना नदीको मिरगन्ज पुलनजिकै रञ्जुको हत्यापछि शवलाई पानीमा डुबाएर राखेको अवस्थामा भेटिएको छ । स्थानीयवासीले उनको शव खोलामा देखेपछि जोगबनी प्रहरीलाई खबर गरेका थिए ।

    प्रहरीको निर्देशनमा मृतकको शवलाई आफन्तले खोलाबाट निकालेका छन् । शवको पोष्टमर्टमपछि नेपाल नै ल्याएर दाहसंस्कार गरिने मृतकका माइतीपक्षले बताएका छन् । हत्यामा संलग्न चार जनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ । जोगबनी प्रहरी चाैकीका इञ्चार्ज अफताब अहमदका अनुसार रञ्जुका श्रीमान् भीम बहरदार, जेठाजु अर्जुन बहरदार, ससुरा सैनी बहरदार, छिमेकी शिवानन्द मुखिया पक्राउ परेका छन् ।

    हत्यामा संलग्न चारजनाविरुद्ध रञ्जुका माइतीपक्षले भारतीय प्रहरीसमक्ष ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा दर्ता गराएका छन् । पक्राउ परेका चार जनामाथि थाना कार्ड नम्बर ३०३ र १९ को दफा ३०४ बी, २०१ र भारतीय दण्ड विधान ३४ अन्तर्गत मुद्दा दर्ता भैसकेको जोगबनी प्रहरी थानाले जनाएको छ ।

    रञ्जुको हत्याको कारण दाइजाे

    गएको फागुनमा भारतको अररिया जिल्लाको तकिया निवासी २५ वर्षीय भीम बहरदारसँग रञ्जुदेवीको विवाह भएकाे थियाे । विवाहपछि बहरदार परिवारले पटक-पटक रञ्जुलाई दाइजोको विषयमा मानसिक र शारीरिक यातना दिँदै आएका थिए र दाईजोकै दबाबका कारण माइतीपक्षले केही समय अगाडि मात्र मोटरसाइकलसमेत किनेर दिएकाे बताएका छन् । 

    ‘हामीले भर्खरै मात्र ९० हजारको मोटरसाइकल किनिदिएका थियौँ’, रञ्जुका हजुरबुबा उमालाल सहनीले भन्नुभयो, ‘फेरि छोरीका सासु–ससुरा र श्रीमानले पसल गर्न भनेर दुई लाख मागे, त्यो दिन नसकेपछि यसरी हत्या भएको हो ।’

    यसअघि पनि छोरीलाई सासू–ससुरा र श्रीमानले पटक-पटक दाइजोको लागि यातना दिँदै आएको उमालालले बताउनुभयो । पछिल्लो पटक माग गरिएको दुई लाख नदिएकै कारण नातिनीले ज्यान गुमाउनु परेको उमालालको भनाइ छ ।

    दुई दिनदेखि हराएकी रञ्जुको बारेमा जोगबनी थानामा माइतीपक्षले शनिबार उजुरी दिएका थिए । भारतीय प्रहरीले माइतीपक्षको निवेदनका आधारमा परिवारका चार जनालाई फक्राउ गरेको हो । उज्जयालो


    क्याटेगोरी : अपराध, मुख्य समाचार, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस