सांसद आलम पक्राउ परेपछि न्याय पाउने पीडितको आशा

रौतहट, असोज २८ गते । राजपुर बमकाण्डको १२ वर्षपछि आरोपी कांग्रेस नेता तथा सांसद मोहम्मद आफताब आलम पक्राउ परेपछि पीडित परिवारलाई न्याय पाउने आश पलाएको छ ।

[custom-facebook-feed]

२०६४ चैत २७ गते पहिलो संविधान सभाको निर्वाचनको एक दिन अगाडि राजपूरमा भएको बम विस्फोटको घटनामा संलग्नताको आरोपमा आइतबार आलम पक्राउ परेका थिए ।

२०६४ चैत २७ गते आफताव आलमको काका शेख इद्रिसको घरमा बम विस्फोट भएको थियो । विस्फोटमा परी कति जनाको मृत्यु र कतिजना घाइते भएका हुन् भन्ने यकीन भएको थिएन ।

तर सरुअठाका २४ वर्षका त्रिलोकप्रताप सिंह र २२ वर्षका ओसी अख्तरको मृत्यु भएको भन्दै दुवै जनाको परिवारका सदस्य श्रीनारायण सिंह र रोक्साना खातुनले मोहम्द आफताब आलम, महताब आलम, मोविन आलम, शेख भदई र शेख सरोजविरुद्ध किटानी जाहेरी दिएका थिए ।

सरुअठाको घरमै बसिरहेका त्रिलोकप्रताप सिंहलाई चुनाव प्रचार प्रसारका लागि जाउँ भन्दै चैत १८ मा सेख भदई बोलाउन आएका थिए । एक साता अगाडि चुनाव प्रचारमा हिँडेका सिंह र अख्तर बम बनाइरहेको स्थानमा घाइते भएको र उनीहरुलाई घाइते अवस्थामै उपचारका लागि भन्दै नजिकैको इँटा पोल्ने चिम्नीमा जलाएको आरोप आलममाथि लागेको थियो ।

जाहेरीकर्ता तथा मृतक त्रिलोकप्रताप सिंहका बुबा ७९ वर्षका श्रीनारायण सिंहलाई घटनाको १२ वर्षपछि न्याय पाउने आश पलाएको छ । ‘घटनालगत्तै उनले किटानी जाहेरी दिन खोज्दा तत्कालिन एसपी लक्ष्मण न्यौपानेले मुद्दा दर्ताको निवेदन नै लिन मानेनन्’ उनले भने ‘बम विस्फोटमा ठूलो पद र शक्तिमा भएको मान्छे संलग्न भएकाले त्यतिबेलाको प्रहरी नै बिक्यो ।’

सिंहसँगै ओशी अख्तरकी आमा रोक्साना खातुनले पनि जाहेरी दिन खोजेकी थिइन् । तर शक्तिको आडमा दुवै पीडितको पहुँच नै पुगेन । ‘प्रहरीले चाहेको भए त्यही बेला नै हामीलाई न्याय दिन सक्थ्यो’ सिंह भन्छन ‘हामी सामान्य मान्छे पीडित हुदा तत्कालीन प्रहरीले न्याय दिलाउन कुनै चासो नै देखाएन ।’ जिल्लामा कुनै उपायले पनि मुद्दा दर्ता हुन नसके पछि आफूहरु सर्वोच्च अदालतको शरणमा गएको उनले बताए ।

आइतबार आफताव आलम पक्राउ परेको खबर सुनेपछि श्रीनारायण सिंहलाई शुरुमा विश्वास नै लागेन । तर बाह्र वर्षपछि खोलो पनि फर्किन्छ भने झै उनलाई अब आफूले न्याय पाउने आश जागेको बताए । ‘मलाई न्याय पाउन र प्रहरीलाई अभियुक्त समात्न १२ वर्षको समय लाग्यो । १२ वर्षको अवधिमा थुप्रै प्रहरीका अधिकृत र कर्मचारी फेरिए तर मैले कसैबाट पनि सहयोग पाएको थिइन’ वृद्ध अनुहारको आँखाभरि आशु पार्दै सिंहले भने ।

यो १२ वर्षको यो अवधिमा धेरै उतार चढाव आयो । श्रीनारायणसँगै जाहेरी दिएकी रोक्साना खातुनको पनि हत्या भयो । उनी छोराको हत्या गर्ने अपराधीलाई कारवाही भएको हेर्न नपाउदै मारिइन् । मुद्दा फिर्ता लिन र पुरानो कुराहरु टुंग्याउन उनलाई दश लाख रुपैयासम्म दिने प्रस्ताव गरिएको थियो । जवान छोरा गुमाएको क्षतिपूर्ति दशलाख होइन न्याय खोजेको उनले बताए ।

छोरा गुमाएको पीडा भुल्न नसकेका वृद्ध सिंह कानूनी प्रक्रियाप्रति विश्वस्त छन् । ठूलो मान्छेले अपराधले गर्दा सजाय हुन्छ कि हुदैन भन्ने कुरा अब अदालतको निर्णय पछि थाहा हुने उनले बताए । भोलिका दिनमा कसैले यस्तो जघन्य अपराध नगरुन् भन्नका लागि पनि न्यायालयले दोषीलाई कारबाही गर्नुपर्ने उनको माग छ । -गौतम श्रेष्ठ /अनलाइन खबर