• The Public Today
  • मिथिला मध्यमा परिक्रमा जनकपुरधाममा


    गोविन्द महतो-
    जनकपुरधाम, चैत्र ६ गते ।
    मिथिलाञ्चलको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको १५ दिने मिथिला माध्यमिकी परिक्रमाको टोली जनकपुरधाम आइपुगेको छ । माध्यमिकी परिक्रमामा धनुषा, महोत्तरी र भारतको बिहार प्रान्तको सीमावर्ती क्षेत्रमा अवस्थित धार्मिक स्थलहरुको १०७ किलोमिटर र सीमावर्ती क्षेत्र भारतको २६ किलोमिटर गरी १३३ किलो मिटर भू–भागको परिक्रमा गर्दै साधुसन्त तथा श्रद्धालुहरु पैदल यात्रा गर्दै जनकपुरधाम आइपुगेका छन् ।

    मंगलबार राति टोलीले बुधबार जनकपुरधामको विभिन्न स्थानमा दिनभरी विश्राम गरी मध्यरात नगरको परिक्रमा गर्नेछ। साधुसन्तहरु विभिन्न कुवा, नदी, तलाउहरुमा स्नान गरी छेउमा ध्यान गर्ने गर्दछन्। परिक्रम अवधिमा कुनै स्त्रीसँग सम्बन्ध राख्न नहुने, मदमदिरा तथा मांस खान नहुने मान्यता रहेको जानकी मन्दिरका पुजारी रामरोशन दास वैष्णवले बताए। हजारौंको संख्यामा रहेका साधुसन्त तथा दर्शनार्थीहरु जनकपुरधामको ऐतिहासिक बाह्रबिघा मैदानमा पण्डाल, छाउनी बनाएर बसेका छन्। उनीहरुले बस्नका लागि पराल, भाँडाकुँडा, टायरगाडा, दाउरा, चामल, दाललगायत वस्तुहरु लिएर आएका छन् ।

    १५ दिने परिक्रमामा जनकपुरधामको हनुमानगढीबाट कल्याणेश्वर हुँदै फूलहर, मठिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कन्चनवन, क्षीरेश्वरनाथ (पर्वत्ता), धनुषाधाम, सतोषर (मिथिलेश्वरनाथ), औरही, करुणा, विषौल र पुनः कल्याणेश्वर पुगेर फागु पूर्णिमाको दिन जनकपुर फर्किएर नगरको पाँचकोशे अन्तर्गृह परिक्रमा गरी समाप्त हुन्छ।

    नेपाल–भारत सद्भावको प्रतीक

    नेपाल–भारतका नागरिकहरुको धार्मिक, सांस्कृतिक तथा सामाजिक सद्भावको प्रतीक रुपमा माध्यमिकी परिक्रमालाई लिइन्छ। यात्राका क्रममा नेपालको धनुषा र महोत्तरीमा १३ तथा भारतमा २ गरी १५ विश्रामस्थल छन्। मिथिला महात्मयमा विश्रामस्थलका पौराणिक एवं धार्मिक महत्वबारे बेग्लाबेग्लै चर्चा गरिएको स्थलप्रति भक्तजनमा अटुट विश्वास रहेको पाइन्छ। मिथिला महात्म्यअनुसार १८ औँ शताब्दीदेखि धार्मिक यात्रालाई माध्यमिकी परिक्रमाको रुपमा मनाइँदै आइएको छ ।

    परिक्रमामा भारतको आयोध्या, मथुरा, हरिद्वार, दरभंगहा, सितामढी, बैजनाथधामका साधुहरु उल्लेख्य रुपमा सहभागी हुने गर्छन्। नेपालका विभिन्न स्थलबाट प्रतिनिधिमुलक उपस्थित साधुुसन्तको रहने गरेको छ।


    क्याटेगोरी : मुख्य समाचार, समाज


    प्रतिक्रिया दिनुहोस